बझाङ : मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग

 कात्तिक २२, २०७९ मंगलबार ११:४८:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै बिजुली बत्ती बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् ।

गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि छन् । ती तार र पोल स्थानीय बासिन्दाले कपडा सुकाउन प्रयोग गरेको १५ वर्ष बित्न लागि सकेको छ । सरोकारवाला निकायले विद्युत् बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरिकहरुको बिजुली बत्ती बाल्ने आशा निराशामा परिणत हुन थालेको हो । 

गाउँ नजिकै पालगाड खोला छ । त्यो खोलाबाट २०६५ सालमा लाखौँको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत् योजना निर्माण गरी सञ्चालनमा ल्याएको थियो । विद्युत् सञ्चालन भएको केही समय नपुग्दै पालगाडले कटान गर्दै नहर भत्कायो र ठाउँठाउँमा पहिरो गयो । त्यो विद्युत् सञ्चालन गर्ने आँट न तत्कालीन कोटदेवल गाविसले गर्यो न त तत्कालीन जिल्ला विकास समितिले नै । 

विद्युत् सञ्चालनका लागि कसैले पहल नगरेका कारण भएका विद्युतका औजार तथा उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।  स्थानीय समाजसेवी जगदिशबहादुर भण्डारीले भन्नुभयो : ‘स्थानीय सरकार आएपछि त बिजुली बत्ती बाल्न पाइन्छ कि भन्ने आशामा थियौँ, पटक पटक स्थानीय सरकारसँग विद्युत् पुन: निर्माण तथा राष्ट्रिय प्रसारण लाइन जोडी दिन आग्रह गर्दै आयौँ, तर त्यो पूरा हुन सकेन ।’

उहाँका अनुसार २०७४ सालमा भएको पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले यो गाउँका लागि विद्युत् लगायत सिँचाइका कोरा नारा दिएका थिए । ‘हामी सोझा नागरिक पत्यायौँ र मतदान पनि गर्यौँ' उहाँले भन्नुभयो– 'पाँच ‍वर्ष वित्यो न सिँचाइको सुविधा गाउँमा पुग्यो न त विद्युत् नै ? ’ 

गएको वैशाखमा भएको पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले पनि दशैँअघि नै बिजुली बत्ती पुर्याउने आश्वासन दिएका थिए । तर, अहिलेसम्म एउटा विद्युतको पोल र तार बनाउने काम नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

यस्तै, स्थानीय बासिन्दा धर्मराज बोहाेराले २०६५ सालमा घरमा बिजुली बत्ती बालेको भए पनि त्यसपछि  बाल्न नपाएको गुनासो पोख्नुभयो । उहाँले भने ‘इमेल इन्टरनेटको जमाना छ । हामीले बिजुलीको साटो झरो र टुकी बाल्नु परेको छ । केटाकेटीले त्यही झरो र टुकीको भरमा पढ्नु पर्ने अवस्था छ । सरकार आएको अनुभूति हामीले गर्न पाएका छैनौँ । नागरिकका दुःख ज्यूँ का त्यूँ छन् । ’

विद्यालयका कम्प्युटर शिक्षाको थालनी गरिएको भए पनि यहाँ विद्युत् नभएका कारण विद्यार्थीहरुले कम्प्युटर शिक्षाबाट समेत बन्चित हुनु परेको सरस्वती विद्या मन्दिर माविका प्रधानाध्यापक विरेन्द्रबहादुर बाेहोराले बताउनुभयो ।

मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि डीपीआर तयार पारेर ऊर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म फाइल पुर्याइसकेको दाबी गर्नुभयो । उहाँले यसै वर्षभित्र बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउने बताउनुभयो । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडामा तीन सय घरधुरी छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया