बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पुगेका केही मतपेटिका फुटेको भेटियो

 कात्तिक २२, २०७९ मंगलबार १२:१८:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडा मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको भेटिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय परिसरदेखि माथिल्लो तलासम्म नै निर्वाचन सामग्री राखिएका छन् । कार्यालय परिसरमा रहेका केही मतपेटिका फुटेका छन् ।

ती फुटेका मतपेटिका कर्मचारीले छुट्याउने गरेका छन् । सेतो रङ्गकाे मतपेटिका कुनैको पिँधमा, कुनैको बिर्कोमा तथा केही फक्लेटा नै उप्किएका छन् ।

निर्वाचन आयोगले केही दिन अगाडि यी मतपेटिका पठाएको थियो । यसपालि अत्यन्तै कमसल खालका मतपेटिका आएको बाग्मती प्रदेश निर्वाचन कार्यालयका कर्मचारीले आरोप लगाएका छन् ।

नयाँ मतपेटिका ठूलो कार्टुनमा शिल गरेर ल्याउँदा समेत फुटेको अवस्थामा भेटिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अधिकृत गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।

मतपेटिका २३ वटा फुटेको पाइएको छ । त्यस्तै, १० वटाको बिर्को नै फुटेको भेटिएको छ । लोड अनलोड गर्दा, ल्याउँदा गाडीमा ठोक्किएर यस्तो भएको हुनसक्ने पौडेलले बताउनुभयो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुमनाथ पोख्रेलले फुटेका मतपेटिकालाई छुट्टै राखेर अरु नफुटेका मतपेटिकाको प्रयोग गरिने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया