डोटी भूकम्प : शोकमा डुब्यो गैरागाउँ

 कात्तिक २३, २०७९ बुधबार १२:५५:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराति गएको भूकम्पमा परि ६ जनाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको छ । गैरागाउँमा धान तथा दलहनबाली भित्र्याउने काम चलिरहेको थियो । त्यसैमाथि चुनावी चहलपहल । यही समयमा ६ जनाको ज्यान जाने गरि आएको भूकम्पले अहिले गैरागाउँमा रुवाबासी चलेको छ । 

राति गाउँमा सबै सुतेको बेला भूकम्प आउँदा मानवीयसहित धनजनको क्षति भएको स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । 

‘हामी त मस्त निन्द्रामा थियौँ, भूकम्प आयो, हाम्रो ठाउँमा निकै ठूलो क्षति पुर्‍याएको छ’, उहाँले भन्नुभयो, ‘मानवीय क्षतिसहित आठ घर भत्किएका छन्, रातभरि घरबाहिर खेतमा आगो बालेर बितायौँ, हामीलाई ठूलो विपद् आइलाग्याे ।’ 

पहिलो पटक भूकम्प आएको थाहा पाएका उहाँले पहिले त किन हल्लियो जानकारी नै नभएको र जब घर ढल्दै गए त्यसपछि मात्रै भाग्न सफल भएको बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘भूकम्पले काठमाण्डौमा क्षति गरेको सुनेको थिएँ, आफ्नै गाउँ तहसनहस हुने गरी आएको पहिलो पटक देखेँ ।’

गैरागाउँवासीलाई अझै पनि भूकम्प आउँछ कि भन्ने चिन्ता छ । भूकम्पले घर भत्काएकाहरु अब रात कहाँ बिताउने भन्ने चिन्तामा छन् भने घर नभत्केकाहरु पनि फेरि भूकम्प आउँछ कि भन्ने त्राशमा छन् । 

स्थानीय रघु कठायतले भन्नुभयो, ‘भूकम्पले घर भत्काएकाहरुलाई अब के खाने र कहाँ बस्ने चिन्ता थपिएको छ, सबै तह र तप्काबाट पीडितलाई राहतका लागि पहल हुन आवश्यक छ ।’ 

गैरागाउँ मात्रै होइन पूरै पूर्वीचौकी गाउँपालिका नै शोकमा छ । भूकम्पले भत्काएका घरहरु र मानिसहरुको रुवाबासीले केही समयको लागि पूरै पालिकामा चुनावी लहर सेलाएको छ । भूकम्पको धक्कापछि सबैजसो बाहिर आए पनि वृद्धवृद्धा तथा बालबालिका भाग्न नसकेका कारण मानवीय क्षति हुन पुगेको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउनुहुन्छ ।

‘सबै जना राति निदाउनु भएको थियो, एकाएक भुइँचालो आयो, बालबालिका, वृद्धवृद्धाले भाग्न नपाउँदा दुःखद घटना भयो, हाम्रो पूरै पालिका ठूलो शाेकमा परेको छ’, उहाँले भन्नुभयो, ‘फेरि भूकम्प आउँछ कि भनेर त्यहाँका स्थानीयवासीको मनमा अझै डर छ ।’

पीडितहरुको उद्धार तथा अन्य क्षतिका विषयमा गएरातिदेखि नेपाली सेनाको टोली, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यसैगरी नेपाल रेडक्रस डोटी शाखाको टोली पनि राहत तथा उद्धार सामग्रीसहित त्यस क्षेत्रमा पुगेको छ । अहिले उद्धार टोलीले भत्किएका तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौको संख्यामा पशु चौपायाहरु समेत मरेका हुन सक्ने स्थानीयवासीको अनुमान रहेको छ । 

बुधबार राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टर स्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परेर पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन् । 

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् । 

भूकम्प मापन केन्द्रका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५.७ रेक्टर स्केलको र ९ बजेर ५६ मिनेटमा ४.१ को र २ बजेर १२ मिनेटमा ६.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका थिए ।

घाइतेको जिल्ला अस्पतालमा उपचार

भूकम्पमा परेर घाइते भएकाहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको हातखुट्टा, टाउको तथा शरीरमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । केही घाइतेहरुलाई बढी चोट लागेका कारण जिल्ला बाहिर थप उपचारका लागि लैजानु पर्ने अवस्था आएको जिल्ला अस्पतालले जनाएको छ । 

 


अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया