भूकम्प पीडितलाई पुगेन सरकारी राहत, खुला चौरमा रात बिताउन बाध्य

 कात्तिक २४, २०७९ बिहिबार १०:५७:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचाैकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु खुला चौरमा रात बिताउन बाध्य भएका छन्।

त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताएका छन् । पाेली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् । भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका भरत बाेहाेराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् ।

जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उहाँले गुनासो गर्नुभयो । भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न वितरण गरे पनि त्यो अपुग भएको छ ।

भूकम्प पीडित खडकबहादुर बाेहाेराले भन्नुभयो, ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, हाम्रा पीडा कस्ले सुन्ने ।’ त्यहाँका जगतबहादुर बाेहाेराले न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठ्याङ्ग्रिने गरेका बताउनुभयो । 

अस्थायी रुपमा भए पनि टहराको व्यवस्था गरिदिन पीडितहरुको माग छ । भूकम्पको पीडाले किसानले खेतमा पाकेको धान काट्न र कोदो टिप्नसमेत सकेका छैनन् । पाकेको बाली खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्बल आइपुगेकाले सम्भवतः आजै वितरण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतको लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौँ ।’ 

बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएकाे ६ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पमा परि यस गाउँका ६ जनाको ज्यान गएकाे छ । ७ जना घाइते भएका छन् । भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेकाे छ भने दर्जनाैँ घरमा आ‌ंशिक क्षति पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया