उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

 कात्तिक २५, २०७९ शुक्रबार ९:५६:६ | डीबी बिष्ट
unn.prixa.net

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् ।

आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छन् । यो उनीहरुको बाध्यता हो ।

बझाङको सदरमुकाम चैनपुरको बसपार्क, तमैल, भाँडेबजार, मोरीबगर झोता, झनाना, बागथलाका बस काउन्टरमा भारत जानेको लर्को देखिन्छ । कोही स–परिवारसहित त कोही एक्लाएक्लै रोजगारीको खोजीमा भारत जान थालेका छन् । अहिले बझाङबाट दैनिकजसो रोजगारीको खोजीमा भारत जानेको सङ्ख्या ४० जनाभन्दा धेरै रहेको सुदूरपश्चिम बस व्यवसायी समिति बझाङका सदस्य जीवनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार युवा मतदातालाई चुनाव आएकोमा कुनै उत्साह छैन ।

उहाँले भन्नुभयाे ‘अहिले चुनाव आएको र नआएको कुनै वास्तै छैन । एक छाकको जोहो गर्न र छोरा छोरीको पढाइको खर्चको जोहो गर्न दैनिक रुपमा भारत जानेहरुको कमी छैन । कति दिन त टिकट नै पुर्याउन मुस्किल हुन्छ । गाउँ‍गाउँबाट कहिले १०/१५ देखि २० जनासम्मको समूह आएको हुन्छ । कसैका श्रीमान्, श्रीमती र छोरा छोरीसहित भारत जाने गरेका छन् ।'

कोही युवा एक्लै भारत जाने गरेको उहाँले बताउनु भयाे । बसपार्कमा दैनिक जस्तो रुवाबासी चलिरहन्छ । आफन्तलाई बिदाइ गर्न आएकाहरुको भिड लाग्ने गर्छ । बढी जस्तो शनिवार र सोमवारको दिन भिड लाग्ने गरेकाे छ । 

खर्चको जोहो गर्न र छोराछोरीको पढाइ खर्च जुटाउन दैनिक रुपमा भारत जानेको कमी छैन । नेताहरुले आश्वासन मात्रै दिने गरेको तर आफूहरुलाई भारत गएर काम नगरि नहुने बाध्यता रहेको आमासहित भारत जान लागेका सुर्मा गाउँपालिका–३ का नवराज विकले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयाे ‘नेताको पछि लागेर केही पाइएको पनि छैन, खाइएको पनि छैन ।  उनीहरुको पछि लागेर खान पुग्ने पनि होइन । औषधि उपचारका लागि पेटको गुजारा गर्नका लागि म भारतकाे बेङ्ग्लोरमा जान लागेकाे हुँ।'

उहाँसँगै भारत जान लागेका विरेन्द्रबहादुर विकले पनि २० वर्षपछि घर फर्किएको भए पनि खर्च जुटाउन फेरि भारत नै जान लागेको बताउनुभयो ।

उहाँले भन्नुभयाे ‘देशको माया कसलाई लाग्दैन र ? देशको माया लागेर नै २० वर्षपछि घर फर्किएर आएँ । देशको माया मानेर खान, लगाउन पुग्ने भए आनन्द हुन्थ्यो । आफूहरुसँग पाखो जमिन छ । एक छाक खान पनि पुग्दैन । बाल्यकालमै भारत छिरेको हुँ । छोराछोरी र श्रीमती पनि आफूसँगै भारतमा लैजान लागेको छु । उतै पढाउँछु । उतै बस्छौँ । भोट धेरै पटक हालियो हामीहरुको अवस्था उही हो । चुनाव आउँदा नेताले गरीबका लागि नै लडेको अनुभूति गर्छन् । तर चुनाव पछि हामी जस्तालाई साेध्दैनन् । कसैको पछि लागेर केही हुँदैन भन्ने मन भएर भारत जान लागेको हुँ ।'

सुर्मा गाउँपालिकाबाट मात्रै २ सयभन्दा धेरैले गाउँ छाडिसकेका सुर्मा गाउँपालिका–१ का वडाअध्यक्ष दिनेशबहादुर बोहाेराले बताउनुभयो । दशैँ तिहार मनाउन आएकाहरु चुनाव छोडेर भारततर्फ जान थालेका छन्। पश्चिम क्षेत्रका अरु जिल्लाबाट पनि कामको खोजीमा भारत जानेहरु धेरै छन् । परिवार पाल्ने आधार नहुँदा मतदान छोडेर भारत जानुपर्ने बाध्यता रहेको उनीहरुकाे गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया