...अनि कैद भयो चुङ्बाको क्यामेरामा हिउँ चितुवा

 कात्तिक २५, २०७९ शुक्रबार १८:४:५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

मानिसभन्दा टाढा बस्न रुचाउने हिउँ चितुवाको फोटो खिच्न पाउनु जो कोहीका लागि गौरवको कुरा हो । हिउँ चितुवाबारे विद्यावारिधी गर्दै गर्नुभएका संरक्षणकर्मी कमल थापा भन्नुहुन्छ, ‘हिउँ चितुवाले मानिसलाई देखिरहेको भए पनि मानिसले चाहिँ हत्तपत्त देख्न सकिँदैन, मानिसको चहलपहल थाहा पाउनसाथ उ टाढै बस्ने भएकोले फोटो खिच्न सौभाग्यवश मात्रै पाइन्छ ।’

हिउँ चितुवाको अध्ययनका लागि धेरै पटक हिमाली भेगमा पुग्नुभएका थापा आफ्नो टोलीले अध्ययनका क्रममा बारम्बारको प्रयासपछि मात्रै हिउँ चितुवा देख्न सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक त विकट हिमाली क्षेत्रमा बस्छ, त्यहाँ धेरै मानिस पुग्नै सक्दैनन् ।अर्को कुरा मानिस देखेपछि उ टाढैबाट अर्को बाटो लाग्छ, उसको रङ पनि हिमाली क्षेत्रका घाँस तथा पहाडसँग मिल्ने भएकोले झट्ट देखिँदैन । अर्को कुरा सङ्ख्यामा कम भएको हिउँ चितुवा हिमाली क्षेत्रको ठूलो क्षेत्रमा घुमिरहने भएको हुनाले खोज्दै गएकै ठाउँमा भेटिन्छ भन्ने पनि छैन ।’

दोस्रो प्रयासमा सफल चुङ्बा

अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको फोटो खिचेपछि धेरैले सामाजिक सञ्जालमा नेपालीले किन खिच्न सकेनन् भन्ने चर्चा गरे । तर नेपाली फोटोग्राफरले पनि हिउँ चितुवाको फोटो खिचेका छन् । दुर्लभ जनावर भएकोले जो कसैबाट नयाँ फोटो प्राप्त हुँदा चर्चा हुनु नौलो होइन । 

यसअघि थुप्रै नेपाली फोटोग्राफरले हिउँ चितुवाको फोटो खिचेका छन् । तीमध्ये एक हुनुहुन्छ बुढेसकालमा वाइल्डलाइफ फोटोग्राफर बनेका चुङ्बा शेर्पा । उहाँले दोस्रो प्रयासमा हिउँ चितुवाको फोटो खिच्नुभएको छ । 

सन् २०१९ को अप्रिलमा हिउँ चितुवाको फोटो खिच्न अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ पुग्नुभएका शेर्पा आठ दिनको प्रयासमा पनि हिउँ चितुवा नभेटेपछि रित्तै फर्कनुभयो । ५५ सय मिटर उचाइमा जाँदा पनि हिउँ चितुवा नदेखेपछि फर्किएका शेर्पाले त्यही वर्षको सेप्टेम्बर महिनामा दोस्रो प्रयास गर्नुभयो । 

दोस्रो पटक भने उहाँ होटलबाहिर बस्नको लागि टेन्ट, भरिया, गाइड, खानेकुरा सबैको बन्दोबस्तका साथ जानुभयो । ४६ सय मिटर उचाइमा क्याम्प बनाएर हिउँ चितुवा कुरेर बस्नुभएका शेर्पाले बाह्रौँ दिनमा हिउँ चितुवाको फोटो क्यामेरामा कैद गर्न सफल हुनुभयो । शेर्पा भन्नुहुन्छ, ‘बिहान उज्यालो भएदेखि बेलुकीसम्म पर्खँदा बल्ल १२ औँ दिनमा हिउँ चितुवाको दर्शन पाएँ, त्यो खुसी वर्णन गर्ने शब्द नै छैन ।’ शेर्पाले झन्डै सय मिटरको दुरीबाट खिचेको खिच्नुभएको हिउँ चितुवाको फोटो निकै उत्कृष्ट छ । उहाँले अर्को दुर्लभ जनावर जङ्गली याकलगायत थुप्रै जङ्गली जनावरको फोटो पनि खिच्नुभएको छ ।  

हिउँ चितुवाको फोटो खिच्नका लागि यस्तै सङ्घर्ष गर्नुपर्ने भएको कारण अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले खिचेको फोटो पनि मिडियाको प्राथमिकतामा परेको हो । दुर्लभ जनावर हिउँ चितुवा हिमाली पारिस्थितिकीय पद्धतिका लागि महत्त्वपूर्ण रहेको संरक्षणकर्मीहरू बताउँछन् । 

हिमाली इकोसिस्टमको सूचक

जीवशास्त्री प्राध्यापक करनबहादुर शाह हिउँ चितुवा हिमाली इकोसिस्टम (पारिस्थितिकीय प्रणाली) को सूचक रहेको बताउनुहुन्छ । जहाँ हिउँ चितुवा पाइन्छ त्यहाँको इकोसिस्टम राम्रो रहेको थाहा हुने उहाँको भनाइ छ । 

शाह भन्नुहुन्छ, ‘जहाँ हिउँ चितुवा हुन्छ त्यहाँ उसको आहारा नाउर, झारललगायतका शाकाहारी जीव पनि हुन्छन् । अनि जुन हिमाली क्षेत्रमा नाउर, झारललगायतका शाकाहारी जीव हुन्छन् त्यहाँ घाँस तथा जडीबुटीहरू पनि रहेको हुन्छ । यस कारण हिउँ चितुवा छ भन्ने थाहा हुनासाथ त्यहाँको इकोसिस्टम पनि ठिक रहेको बुझ्न सकिन्छ ।’ 

कतिपयले अहिले हिउँ चितुवाको आहाराको रूपमा चिनिएको नाउर तथा झारल नासिएको कारण हिउँ चितुवा बस्ती तथा गोठमा आएर घरपालुवा पशु मार्ने गरेको बताउँछन् । नाउर तथा झारल मासिनु पनि हिमाली इकोसिस्टम समस्यामा पर्नु उनीहरूको बुझाइ छ । तर प्राध्यापक करनबहादुर शाह यो कुरा मान्नुहुन्न । हिउँ चितुवाको अध्ययनका लागि लामो समय हिमाली क्षेत्रमा बिताउनुभएका उहाँ भन्नुहुन्छ, ‘नाउर तथा झारल मार्नुभन्दा घरपालुवा पशु मार्नु सजिलो हुन्छ । घरपालुवा जनावर कम दौडने या भिरालो ठाउँमा जान नसक्ने भएकोले मार्न सजिलोका लागि घरपालुवालाई आक्रमण गर्छ भने अर्को कुरा हिउँ चितुवाले खानामा स्वाद फेर्नका लागि पनि घरपालुवालाई आक्रमण गर्छ ।’ 

जङ्गल कम भएको वा जङ्गल नै नभएको ठाउँमा बस्ने हिउँ चितुवा त्यहाँको इकोसिस्टमलाई जोगाउनुको साथै इकोसिस्टम ठिक रहे/नरहेको बारेमा थाहा दिने जीव भएको र अहिलेसम्म हिउँ चितुवा रहेको ठाउँको इकोसिस्टम ठिक रहेको भन्दै शाह हिउँ चितुवा जोगाउने अभियानले समग्र हिमाली इकोसिस्टम जोगिने बताउनुहुन्छ । 

ठूलो बिरालो प्रजातिको जीव

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर रहेको नेपालमा पहिलो पटक हिउँ चितुवाबारे अध्ययन गर्नुहुने त्रिभुवन विश्वविद्यालयका पूर्व–प्राध्यापक, जीवशास्त्री करनबहादुर शाह बताउनुहुन्छ ।

लजालु स्वाभावको हिउँ चितुवा नेपाललगायत दक्षिण र मध्य एसियाका १२ वटा देशको उच्च भेगमा बस्ने गरेको मानिन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि साढे पाँच हजार मिटर उचाइसम्म बस्छ । कतिपय ठाउँमा ६ हजार मिटरभन्दा माथि समेत पुग्ने गरेको शाह बताउनुहुन्छ । 

विश्वमा छ हजार पाँच सयको हाराहारीमा रहेका हिउँ चितुवा नेपालमा झन्डै पाँच सयको हाराहारीमा रहेको बताइन्छ । यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा श्वास फेर्न सजिलो हुन्छ । यसको शरीरमा हल्का खैरो रङ्गको लामा र बाक्ला भुत्ला हुन्छन् । यसको शरीरभरि काला पहेँलो थेग्ला हुन्छन् र छाती सेतो हुन्छ ।

यसको आँखा निलो वा हरियो रङ्गको हुन्छ पञ्जा ठूला हुन्छन् जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिँड्न सक्छन् । लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू–भागमा हिँड्दा शरीर सन्तुलन गर्न सहयोग मिल्छ । चिसो धेरै भएको बेला हिउँ चितुवाले शरीरलाई बेरेर न्यानो बनाउने जीवशास्त्री शाह बताउनुहुन्छ । 

संरक्षणका लागि पालिकाहरू सचेत हुनुपर्छ

हिउँ चितुवा विश्वमै खतराको सूचीमा छ । हिमाली क्षेत्रका पशुपालकहरूले पालेका पशुलाई मारिदिने भएकोले मानिस र हिउँ चितुवाबीच द्वन्द्व हुँदा मानिसले मारिदिन्छन् भने छाला तथा हड्डीको अवैध व्यापारका लागि तस्करहरूले पनि यसको चोरी सिकार गर्ने गरेका जीवशास्त्री शाह बताउनुहुन्छ । 

हिउँ चितुवा हत्तपत्त मानिसको नजिक पर्दैन । अहिलेसम्म हिउँ चितुवाले मानिस मारेको तथ्याङ्क नरहेको शाह बताउनुहुन्छ । यसको शरीरको रौँको रङ्ग हिमाली क्षेत्रको वातावरणसँग मिल्ने भएकोले अलि टाढा हुँदा ठम्याउन पनि गाह्राे पर्छ । मानिसबाट गोप्यरूपमै रहने हिउँ चितुवालाई पासोमा पारेर वा खोजी गरेर पनि चोरी सिकार हुने गरेको छ । यसको संरक्षणका लागि हिमाली क्षेत्रका बासिन्दालाई हिउँ चितुवाको महत्त्वबारेमा बुझाउनुपर्ने शाह बताउनुहुन्छ । 

हिउँ चितुवा संरक्षणको काममा पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । हिउँ चितुवाले घरपालुवा पशु मारेमा किसानलाई सरकारले तोकेको क्षतिपूर्ति सहजरूपमा उपलब्ध गराउन सहजीकरण गर्ने, गोठ सुधारलगायतका काममा सहयोग गर्नेजस्ता काम गरी आफ्नो क्षति भएकै कारण किसानले हिउँ चितुवा मार्ने क्रम रोक्न सकिन्छ । 

यस्तै हिउँ चितुवा हिमाली इकोसिस्टमका लागि महत्त्वपूर्ण छ भन्ने कुरा त्यहाँका बासिन्दालाई जानकारी गराउनुपर्छ । यसका लागि टोलटोलमा छलफल तथा विद्यालयका पाठ्यक्रममा पनि यो विषय समावेश गर्न सकिन्छ । यस्तै पालिकाहरूले हिउँ चितुवाको चोर सिकारमा संलग्नको पहिचान गरी कारबाहीका लागि सिफारिस गरेमा पनि हिउँ चितुवालाई जोगाउन सहज हुने शाह बताउनुहुन्छ । 

बेला–बेलामा किसानको ठूलो क्षतिसमेत गर्दै आएको मांसाहारी जीव हिउँ चितुवा झट्ट हेर्दा मानिसका लागि खतरा देखिए पनि यो जीव मर्दाभन्दा बाँच्दाको फाइदा धेरै भएको जीवशास्त्रीहरू बताउँछन् । जैविक विविधता प्रदर्शन तथा हिमाली क्षेत्रको इकोसिस्टम बचाइ राख्नका लागि महत्त्वपूर्ण हुने हिउँ चितुवा विश्वमै खतराको सूचीमा छ । राम्रो कुरा नेपालमा यसको अवस्था खराब भइसकेको छैन । यसलाई बचाउनका लागि विशेषगरी पालिकाहरूले ध्यान दिनुपर्छ । 

तस्बिर साैजन्य : चुङ्बा शेर्पा

अन्तिम अपडेट: बैशाख ७, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया