नेताहरू भोट माग्न गाउँ पस्दा, परदेशीलाई देश छाड्न परेको छ

 कात्तिक २९, २०७९ मंगलबार ११:५६:२ | नारायण कोइराला
unn.prixa.net

देश चुनावमय भएको छ । नेताहरू भोट माग्न घरदैलो अभियान गर्दै गाउँघरदेखि खेतबारीसम्म पुगेका देखिन्छन् । तर देशको विडम्बना के छ भने नेताहरू भोट चाहिएर गाउँ पस्दा देशमा रोजगारी नपाएकाहरूलाई गाउँघर छाडी परदेसिन परेको छ ।

देशमा चुनाव आएर के गर्नु, चुनावले रोजगारी नदिँदो रहेछ भन्ने त अहिलेको विमानस्थलकै दृश्यले पनि प्रस्ट पर्छ । विमानस्थलमा देश छाड्नेहरूको भिड देख्दा लाग्छ भिसा पाउने हो भने सायद एका दुई बाहेक देशमा बस्न कोही चाहँदैनन् । 

खाडी र मलेसियामा पसिना बगाउनेहरू कै कुरा गर्ने हो भने पनि दसैँ तिहार मानेर काममा फर्कने बेला भइसकेको छ । हरेक परदेशीलाई देश आएपछि विदेश नजाउँजस्तो त लाग्छ नि तर यहाँ कसरी बस्ने । आफू देशमै बस्दा घर कसरी चलाउने भन्ने चिन्ता हुन्छ ।

विदेशमा नेपालीको पौरख र पसिना बग्छ, यता घरमा आफ्ना मानिसहरूको आँखा परदेशी कै पर्खाइमा थाक्छ । यो अवस्था कहिलेसम्म रहन्छ त्यो भन्न सकिने अवस्था भने छैन । अहिले कै अवस्थामा नेताहरूले भनेकै कुरालाई विश्वास गर्न सकिने आधार पनि छैन । भन्न त धेरैजसो दलहरूले चुनावी घोषणापत्रमा रोजगारी सृजनाको निकै रसिला कुरा गरेका छन् । तर कुरा गर्नजस्तो सजिलो छैन व्यवहारमा काम गरेर देखाउन भन्ने कुरा त नेताहरूले पनि बुझेकै हुन् । 

यही कारणले पनि होला अहिले अवस्था यस्तो छ कि पहिला विदेश जाने भन्नासाथ मन अमिलो हुन्थ्यो । तर अहिले जतिसक्दो चाँडो देश छाड्न पाए हुन्थ्यो भन्ने छ । यो रहर नभएर बाध्यता नै हो । 

चाहे त्यो कामको लागि होस् या उच्च शिक्षाका लागि । गन्तव्य एउटै हो, अर्कै देश, परदेश । पढ्नै गए पनि गर्ने कामै हो । 

हाम्रा देशका ठुला दलका नेताले पनि देशमा रोजगारी सृजना गर्नेभन्दा बढी विदेश नै पठाउने कुरामा ध्यान दिएको हो कि जस्तो लाग्छ घरी घरी । मतदातालाई निःशुल्क विदेश पठाउने भन्दै भोट मागिरहेका छन् । सुन्दा पनि अचम्म लाग्छ । के युवाहरूले चाहिँ नेताहरूलाई भोट दिएर कमाउन चाहिँ परदेश जानु पर्ने हो ?

फलानोले यसो ग¥यो । यसपालि हामीलाई भोट दिनुहोस् । हामी गर्छौँ भनेर एकले अर्कालाई दोष लगाउँछन्, गाली गर्छन् । उही पुरानो प्रवृत्ति उही पुराना अनुहार खै कसको विश्वास गर्नु । 

भन्न त देशमा रोजगारी सृजना गर्छौ भन्छन् तर कसरी भनेर भन्दैनन् । परदेशमा कति नेपाली नागरिकको कुन बिजोग छ । उनीहरूको बारेमा यी दलहरू चुइँक्क बोल्दैनन् । कतिपय देशले हाम्रा दाजुभाइलाई फाँसी दिएका छन्, कतिपयले देशले उही काममा पनि अन्य देशका नागरिकलाई भन्दा नेपालीलाई दिने पारिश्रमिकमा समेत विभेद गरेका छन् । 

परदेशिएका श्रमिकहरू देशका नागरिक होइनन् ? के परदेशी चाहिँ रेमिट्यान्स पठाउने मेशिन मात्र हुन् ? समस्यामा पर्दा आफ्नो कुरा राख्ने र सुन्ने दरिलो निकाय छैनन् ।

दूतावास छ तर एक जना कर्मचारीले लाखौं श्रमिकको आवाज कसरी सुन्न सक्छ ? दुर्घटना भयो भने यो मेरो देशको नागरिक हो भनेर कोही आउँदैन । ज्यानै गयो भने पनि समयमा लास नेपाल आउँदैन । महिनौँ कुर्न पर्ने अवस्था छ। 

अझ तिनै परदेशीका बाउआमासँग गएर नेताहरू भोट माग्दै छन् । यसो गर्छु र उसो गर्छु भन्दै सपना बाँड्दै छन् । हाम्रा बाउआमाले त तपाईँहरूलाई भोट दिनुहुन्छ अनि तपाईँ चाहिँ चुनाव जितेर गएपछि के गर्नुहुन्छ ? 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया