मकवानपुर : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्ति पत्र र भत्ता लिने कर्मचारीकाे भिड

 कात्तिक २९, २०७९ मंगलबार १३:२६:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नियुक्ति पत्र र भत्ता लिने कर्मचारीका कारण मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा भिड लागेकाे छ । चुनावमा खटिने कर्मचारीलाई नियुक्ति पत्र र चुनावमा प्राप्त गर्ने भत्ता लिनका लागि दुई दिनदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा भिड लागेको हाे ।  

चुनावमा खटिने कर्मचारीलाई हिजो साेमवार र आज मङ्गलवार नियुक्ति पत्रका साथै आवश्यक भत्ता वितरण गरिएकाले भिड भएको हो । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिने कर्मचारी र शिक्षकलाई नियुक्ति पत्र वितरण गरिरहेकाे छ ।

कर्मचारी जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले उनीहरूलाई नियुक्ति पत्र वितरण गरेकाे मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । जिल्लामा तीन हजार जना कर्मचारी खटिएका छन् । त्यसमा पाँच सय जना सहायकस्तरका शिक्षकलाई पनि खटाइने भएको छ । नियुक्ति पत्र लिइ सकेपछि कर्मचारीलाई चुनाव खर्च र मतपत्रलगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले बताउनुभयो ।

हेटौँडामा रहेका विभिन्न मन्त्रालय, जिल्लास्तरका कार्यालय र पालिकासमेत गरेर दुई हजार पाँच सय जना कर्मचारी तथा पाँच सय जना सहायकस्तरका स्थायी शिक्षकलाई चुनावमा खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।

मकवानपुरमा पालिका चुनावमा भन्दा अहिले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यकाे चुनावमा धेरै कर्मचारी खटिने भएका हुन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया