गुल्मीमा कैदी बन्दीहरुका लागि मतदाता शिक्षा

 कात्तिक २९, २०७९ मंगलबार १७:११:६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको संयोजनमा गुल्मीमा कैदी बन्दीहरुलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा कैदी बन्दीहरुलाई समानुपातिकतर्फ बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवर, रेसुंगा नगरपालिका - २ कि मतदाता शिक्षा स्वयंसेविका लगायतले मंगलवार कारागारमा रहेका ८० जना कैदी बन्दीहरुलाई कसरी मताधिकारको सही सदुपयोग गर्ने, स्वस्तिक छाप कसरी हान्ने, मतपत्र कसरी पट्याउने भन्ने विषयमा कैदी बन्दीहरुलाई जानकारी गराउनु भएको थियो ।

मतदाता शिक्षा कार्यक्रममा कैदी बन्दीहरुले प्रतिनिधि सभाको समानुपातिकतर्फ भए पनि आफ्नो मताधिकारको प्रयोग गर्न पाउने भएकोमा खुसी व्यक्त गरेका छन् । जिल्ला कारागार गुल्मीमा ८० जना कैदी बन्दीहरु रहेका छन् जसमा ७३ पुरुष र ७ महिला रहेको कारागारका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनु भएको छ ।

८० जना कैदी बन्दीहरुमध्ये स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३६ जनाले मात्र प्रतिनिधि सभातर्फ समानुपातिकको मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन् ।

यस पटकको निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले जिल्लाका ९३ वडाहरुमा पालिकास्तरबाट ९८ जना मतदाता शिक्षा स्वयंसेविका परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । गएको पालिका चुनावमा जिल्लामा खसेको १ लाख ४४ हजार मतमध्ये पालिका अध्यक्षमा मात्र ५ प्रतिशतभन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालयकोे तथ्याङ्क छ ।

जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदानस्थल रहेका छन् भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला निर्वाचन कार्यालय, नागरिक समाज तथा संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
 
 

अन्तिम अपडेट: चैत १३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया