बर्दिया–२ : सत्ता गठबन्धनबाट माओवादीका पन्थ र राप्रपाका रावलबीच मुख्य प्रतिस्पर्धा

 मंसिर १, २०७९ बिहिबार १२:२५:५७ | भावुक योगी
unn.prixa.net

बर्दिया – प्रतिनिध तथा प्रदेश सभाकाे चुनाव आउन अब तीन दिन मात्र बाँकी छ । यतिबेला  बर्दियाका नेताहरु भाेट माग्नमा व्यस्त छन् । दिनहुँजसो बर्दियाका चोकचौतारा र चिया पसलहरुमा पनि चुनावकै चर्चा छ । देशका अन्य जिल्लामा झैं यतिबेला बर्दियामा पनि सबै दलका उम्मेदवार, नेता तथा कार्यकर्तालाई मतदाता रिझाउन भ्याइनभ्याइ छ । चुनाव कसले जित्छ, कसले हार्छ भनेर मतदाताहरुले अड्कलबाजी पनि गरिरहेका छन् ।

बर्दियाको क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय मतदाताहरुको भनाइ अनुसार यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा मओवादी केन्द्रका सुरेश पन्थ र राप्रपाका विनय रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ । समाजसेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका दुवै जना अहिले राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । 

मुक्तकमैया, सुकुम्बासी र अव्यवस्थित बसोबास रहेको, त्यसैमा पनि थारु समुदायको बाहुल्यता भएको क्षेत्र नम्बर २ मा दुवै उम्मेदवार थारु बस्तीमा पुगेर चुनावी प्रचारप्रसारमा लागेका छन् । बेटर एण्ड ब्राइटर बर्दिया अभियानका साथ चुनावमा उत्रिनुभएको छ राप्रपाका उम्मेदवार विनय रावल । उहाँ थारु समुदायको उत्थानका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको छ । यही कारण आफ्नो जित सुनिश्चित हुने उहाँको दाबी छ ।

‘आफ्नै लगानीले समाजेवाबाटै विकासका लागि निरन्तर लागि रहेको छु, थारु समुदायको उत्थान र बर्दियाको विकासका लागि मेरो उम्मेदवारी रहेकाले जित निश्चित छ’, उहाँले भन्नुभयो । विनय कांग्रेस छाडेर राप्रपामा आउनुभएको हो ।

यस्तै समाजसेवा र जनताका मुद्दा उठाएर चर्चित बन्नुभएका सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार सुरेश पन्थ पनि आफ्नो जित निश्चित भएको दाबी गर्नुहुन्छ । सुरेश बर्दिया जिल्लामा शिक्षा उद्यमीका रुपमा पनि चिनिनुहुन्छ । शिक्षामा जोड दिँदै शिक्षाका मुद्यालाई लिएर चुनावमा उठ्नुभएको छ उहाँ ।

एमालेका उम्मेदवार पंकजसिंह राठोर पन्थ र रावलको लागि चुनौती बन्न सक्नुहुन्छ । एमाले शक्तिशाली पार्टी भएकाले पनि यसको प्रभाव उम्मेदवारमा पर्ने अनुमान छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारको रुपमा उठ्नुभएको छ ।

यसरी नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारसँग गरेको आन्तरिक साँठगाँठ र एमालेका उम्मेदवार पंकजसिंह राठौरसँगको प्रचिस्पर्धाले पनि माओवादी र राप्रपाका दुवै उम्मेदवारलाई चुनौती थपिएको छ ।सत्ता गठबन्धनले झैं अरु पार्टीले गठबन्धन गरेको भन्ने आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन तर पनि क्षेत्र नम्बर २ मा राप्रपासँग अन्य केही पार्टीले आन्तरिक रुपमा गठबन्धन गरेको हल्लाले पनि बर्दियाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको हो ।

बर्दियामा ६ नगरपालिका, २ गाउँपालिका गरी ८ वटा पालिका र २ वटा मात्र निर्वाचन क्षेत्र भएको यस जिल्लामा गएको पालिका चुनावमा ५ वटा पालिकामा नेपाली कांग्रेस र २ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो । त्यही मतलाई आधार मानेर हेर्ने हो भने सत्ता गठबन्धन बलियो मानिन्छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ, राप्रपाबाट विनय रावल, नेकपा एमालेबाट पंकजसिंह राठौरसहित लोसपाबाट अनिरुद्ध आर्या, राष्ट्रिय स्वतन्त्रबाट ओमप्रकास वसौला, नेमकिपाबाट धर्मराज जैसी र स्वतन्त्रबाट रामप्रसाद आचार्य र लालवीर चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै प्रदेशसभा तर्फ बर्दिया क्षेत्र नम्बर २ को १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना, नेकपा एमालेबाट लहनू थारु, नागरिक उन्मुक्तिबाट प्रदेशी चौधरी, राप्रपाबाट कन्हैयालाल थारु लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा प्रदेश सभामा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

क्षेत्र नम्बर २ को २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मानबहादुर थारु, नेकपा एमालेबाट कृष्णी थारु, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, राप्रपाबाट धर्मराज शाह लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा प्रदेश सभामा सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ निर्वाचन क्षेत्र रहेको बर्दियामा ३ लाख १५ हजार दुई सय ८४ मतदाता रहेका छन् । यस्तै, बर्दिया क्षेत्र नं.–१ मा १९३ र क्षेत्र नं.–२ मा एक सय ८३ गरि कूल तीन सय ७६ मतदान केन्द्र रहेका छन् ।

 


अन्तिम अपडेट: चैत ७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया