दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै

 मंसिर ५, २०७९ सोमबार ११:१६:३० | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, प्राङ्गारिक मल र सिँचाइको समस्याका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कुनै समय दाङमा उत्पादन भएको तोरी अरु जिल्लामासमेत खपत हुँदै आएकोमा अहिले दाङ नै परनिर्भर बन्दै गएको  कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।

स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेका  स्थानीय गीता विष्ट बताउनुहुन्छ ।  केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको विष्ट बताउनुहुन्छ ।  

ग्रामीण क्षेत्रमा पनि खेती नगर्ने र तेल बजारबाट किनेर ल्याउन थालेपछि तेल मिल विस्थापित हुन थालेका छन् । अहिले बजारमा प्रतिलिटर तोरीको तेलको मूल्य झण्डै चार सय रुपैयाँ पुगेको छ । दाङमा तोरी धेरै खेती हुने भएकाले माहुरीको चरनका लागि अरु जिल्लाबाट यहाँ माहुरीसमेत ल्याउने गरिएकोमा  पछिल्लो समय तोरी छर्ने जमिन केही बाँझै छन् भने केही जग्गा खण्डीकरण भइसकेका छन् ।  

दाङमा अहिले झण्डै १७ हजार हेक्टर क्षेत्रफलमा मात्रै तोरी खेती हुने गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया