बझाङमा गठबन्धनका भानुभक्त जोशी विजयी

 मंसिर ७, २०७९ बिहिबार ०:५०:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी विजयी हुनुभएको छ । उहाँ पूर्व मन्त्री पनि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवका अनुसार जोशी २८ हजार १४३ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ऐन महरले २७ हजार १४५ मत प्राप्त गर्नुभयो । मतगणना भइरहँदा दुवै जनाबीच कडा प्रतिस्पर्धा थियो । सुरूवातीदेखि नै एमालेका ऐन महरको अग्रता रहे पनि आधा मत गणनापछि जोशी अगाडि बढ्नुभयो ।  

प्रदेशसभा १ बाट गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले ३ हजार ७७६ मतले विजयी हुनुभयो । उहाँले १७ हजार ११३ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गर्नुभएको छ ।

बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नेता भण्डारीले १३ हजार ८७९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।  यसरी मतान्तर हेर्दा २ हजार ५४२ रहेको छ ।

जिल्लाभरि प्रतिनिधिसभामा कुल ६१ हजार ५०६ मत खसेकोमा ३ हजार ४५९ मत बदर भएका छन् । यस्तै प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा ३२ हजार ४०८ मत खसेकोमा १ हजार १३० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ मा २९ हजार ७ सय ६८ मत खसेकोमा १ हजार ७ सय ६५ मत बदर भएका छन् । जिल्लाभरि कुल मतदाता १ लाख २२ हजार ३७६ रहेका थिए । 
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया