डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

 मंसिर ८, २०७९ बिहिबार १३:५५:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।

सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।

सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो । 

यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

सिंहले पहिलो पटक संसदीय चुनाव जित्नुभएको हो । सिंह यसअघि २०५४ सालमा तत्कालीन हेटौँडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग, २०५६ मा मकवानपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग, २०६४ को संविधानसभा सदस्य चुनावमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित हुनुभएको थियो ।

यस्तै, २०७९ को पालिका चुनावमा पनि हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा सत्तागठबन्धको तर्फबाट निर्वाचित मिनाकुमारी लामासँग पराजित हुनुभएको थियो ।

लगातार चुनावी प्रतिस्पर्धामा पराजय व्यहोर्दै आउनुभएका सिंहले यस पटक भने प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया