भण्डारीलाई बधाई दिँदै ज्ञवालीले भन्नुभयाे, ‘फुटबल चलिरहेको छ, २/२ गोल भयो’

 मंसिर ९, २०७९ शुक्रबार १६:२७:३५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाली कांग्रेसका उमेदवार डा. चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट दोस्राे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । २०६४ सालदेखि एमाले नेता प्रदीपकुमार ज्ञवालीसँग चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएका भण्डारी २०७० र २०७९ गरी दुई पटक विजयी बन्नुभएको हो । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भण्डारीलाई विजयी भएको घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । 

भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गर्नुभयाे । भण्डारीले १ हजार ५ सय ९२ मतान्तरले ज्ञवालीलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।

ज्ञवालीले मतगणना स्थलमै पुगेर भण्डारीलाई खादा ओढाएर बधाई दिनुभयाे । भण्डारीलाई बधाईको अवसरमा हार्दिकता साट्दै उहाँले ‘फुटबल चलिरहेको छ, दुई/दुई गोल भयो’ भन्दै ठट्यौली पारामा कुराकानी गर्नुभएको थियो ।

यस क्षेत्रमा ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो । ज्ञवाली भण्डारीसँगको प्रतिस्पर्धामा २०६४ र २०७४ मा विजयी हुनुभएको थियो । 

यस क्षेत्रमा १ लाख १९ हजार २ सय ८८ जना मतदाता रहेकामा ७० हजार ६ सय १७ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । 

तस्बिर साैजन्य : नारायण पाैड्याल

अन्तिम अपडेट: बैशाख २, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया