कास्की : प्रतिनिधि सभामा एमालेको 'क्लिन स्वीप', प्रदेशमा एमाले ४ र कांग्रेस २ मा विजयी

 मंसिर १०, २०७९ शनिबार १४:१५:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्कीमा नेकपा एमालेले तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका नेताहरूलाई पराजित गर्दै 'क्लिन स्वीप' गरेको छ । प्रदेश सभामा भने नेकपा एमालेले ४ र नेपाली कांग्रेसले २ ठाउँमा जित हासिल गरेका छन् । 

प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित हुनुभयाे । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी हुनुभएकाे हाे । 

गुरुङ अघिल्लो चुनावमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । बराल भने पहिलाे पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्याे । 

यसैगरि कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी विद्या भट्टराई विजयी हुनुभयाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद् भवनको यात्रा तय गर्नुभएकाे हाे ।

कास्की २ मा सत्तारूढ गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा हुने ठानिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उछिन्दै धेरै मत ल्याएपछि गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल तेस्रो हुनुभयाे । 

विद्यार्थी राजनीति गर्दा अनेरास्ववियु महिला विभाग प्रमुख, केन्द्रीय सचिव र पार्टीको विभिन्न जिम्मेवारीमा समेत रहनुभएकी भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । अधिकारीको निधनपछि २०७६ मा भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा उहाँ प्राध्यापन पेसा छाडेर एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएर निर्वाचित हुनुभएकाे थियाे । 

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा भएको चुनावमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका राजमी बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गर्दै एमालेका दामोदर पौडेलले पहिलो पटक प्रतिनिधि सभाको यात्रा तय गर्नुभएकाे हाे ।  

त्यसैगरि गण्डकी प्रदेश सभाका लागि भएको चुनावमा नेकपा एमालेले ४ सिट र सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसले २ सिटमा जित हासिल गरेका छन् । सत्ता गठबन्धनकै नेकपा माओवादी उम्मेदवारहरूले भने जित निकाल्न सकेनन् । 

प्रदेश सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ (क) बाट नेकपा एमालेका उम्मेवार खगराज अधिकारी विजयी हुनुभयाे । अधिकारी आफ्नाे पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुनुहुन्छ ।

कास्की १ (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेकै वेदबहादुर गुरुङ विजयी हुनुभयाे । यसैगरि कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यका लागि भएको चुनावमा एमाले र कांग्रेसका उम्मेदवारले १/१ सिट जितेका छन् । कास्की २ काे (क) मा एमालेका भीमबहादुर कार्की विजयी हुँदा (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभयाे ।  

कास्की ३ प्रदेश सभामा पनि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले १/१ निर्वाचन क्षेत्रमा जितेका छन् । कास्की ३ (क) बाट एमालेका गणेशमान गुरुङ र (ख) बाट कांग्रेसका प्रकाश बराल विजयी हुनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया