धनराज गुरुङ र पद्मा अर्यालकाे निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन, आयोगको टोली काठमाण्डौ फर्कियो

 मंसिर १०, २०७९ शनिबार १६:२:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – मतगणना रोकिनुको कारण बुझ्न स्याङ्जा आएको निर्वाचन आयोगका कानुन सहसचिव फणिन्द्र गौतम नेतृत्वको टोली काठमाण्डौ फर्किएको छ । मतगणनाबारे अझै अन्याेल कायमै रहेकाले मङ्सिर १२ गतेभित्र टोलीले आयोलाई प्रतिवेदन बुझाउने छ । त्यही आधारमा अगाडि बढ्ने तय भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

नेकपा एमालेले चापाकोट नगरपालिकाका ४ वटा बुथमा धाँधली गरी कब्जा भएकाे आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिइरहेका छन् । 

चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

मतगणना राेकिएकाे बारे बुझ्न आयोगको टोली हिजाे शुक्रवार स्याङ्जा आएको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल गरेको थियो ।

स्याङ्जा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमालेकी पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने देखिएकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया