रवि लामिछाने ठेकेदारसँगै 'फिल्ड' मा, अलपत्र सडककाे काम भाेलिदेखि नै

 मंसिर १०, २०७९ शनिबार २०:१७:१५ | राधेश्याम खतिवडा
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

चितवन – चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अलपत्र सडक समयमै निर्माण गर्न ठेकेदारलाई अनुराेध गर्नुभएकाे छ । आज शनिवार ठेकदारसँगै सडकमा पुगेर लामिछानेले यस्ताे अनुराेध गर्नुभएकाे हाे । 

चितवनको भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा कालोपत्र हुन नसकेको सडककाे विषयमा लामिछानेले सरोकार राख्नुभएको हो । सडक निर्माण थालिएको समय धेरै भएपनि कालोपत्र हुन सकिरहेको छैन । समयमै सडक नबन्दा यात्रुले बर्खामा हिलाे र हिउँदमा धुलोको समस्या खेपिरहेका छन् ।  

अध्यक्ष लामिछानेले सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बाटो निर्माणका लागि सार्वजनिक प्रतिबद्धता गर्न लगाउनुभयो । लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई माइकमा बोल्न लगाएर भोलि (आइतवार) देखि नै काम गराउने प्रतिबद्धता गराउनुभयो । 

यस क्षेत्रको पाँच सय मिटर सडक कालाेपत्र गर्न बाँकी छ । निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनमा राेकिएका काम तत्काल सक्ने गरि काम अघि बढेको बताउनुभयो ।

यस क्षेत्रका नागरिकले नबनेको भन्दै गुनासाे गर्ने गरेकाले ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई फिल्डमै ल्याएर समस्या समाधान गराउने प्रयास गरेकाे रवि लामिछानेले बताउनुभयाे । जितपछि बधाई खाने समय नभएको बताउँदै उहाँले काम गर्ने बेला आएको बताउनुभयो । औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले उनीहरूकाे काममा लागिपरेको उहाँकाे भनाइ छ । आफूलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउन पनि उहाँकाे आग्रह छ । 

यसैबीच आजै बिहान लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखामा सरोकारवाला पक्षसँग चितवनलगायत देशभरका किसानले भोग्दै आएका मलको समस्याको विषयमा छलफल गर्नुभएको छ । किसानले लामो समयदेखि भोग्दै आएको मलको समस्या समाधान गर्नु आफ्नो महत्त्वपूर्ण प्राथमिकता मध्येको एक भएकाे उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया