कर्णालीमा कांग्रेसलाई फाइदा, प्रतिनिधिसभामा एमाले शून्य

 मंसिर ११, २०७९ आइतबार १४:२६:३९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावले कर्णाली प्रदेशमा  राजनीतिक दलहरूको शक्ति सन्तुलन फेरिएको छ । मंसिर ४ गते चुनावको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै दलहरूको विगतको शक्ति सन्तुलन फेरिएको देखिएको छ । 

वि.स.२०७४ को चुनावमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा धेरै सीट जितेर पहिलो बनेको नेकपा एमाले  यस पटक कर्णालीमा कमजोर अवस्थामा रहेको छ ।  पाँच वर्षअघि कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसलाई यस पटक निर्वाचनमा फाइदा पुगेको छ । 

कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । यी सबैमा यसपालि एमाले शून्य भएको छ ।  २०७४ मा कर्णालीबाट प्रतिनिधिसभाका ६ सीट जितेको एमाले यस पटक एउटा सिट पनि जित्न सकेन । 

अघिल्लो संसदीय चुनावमा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले पाँच र स्वतन्त्रले एक सीट जितेका थिए भने कांग्रेस शून्य भएको थियो । पाँच वर्षअघि प्रतिनिधिसभामा कर्णालीबाटै निल बनेको कांगे्रसले अहिले चार सिट जितेको छ । माओवादी केन्द्रले पनि चार वटा क्षेत्रमा जित हात पारेको छ । 

यस्तै, पहिलो पटक नेकपा एकीकृत समाजवादीले कर्णालीमा प्रतिनिधिसभाका तीन क्षेत्रमा विजय हासिल गरेको छ । यसपटक कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको  चुनावमा गठबन्धन थियो । सत्तारुढ गठबन्धन दलहरूले ११ वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एउटामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको हो । प्रतिनिधिसभातर्फ कांग्रेसले सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने दैलेखको क्षेत्र नं. २ र मुगुमा पनि जितेको छ ।

सत्तारुढ गठबन्धनको अर्को दल माओवादी केन्द्रले रुकुम–पश्चिम, जाजरकोट, कालीकोट र हुम्लाबाट प्रतिनिधिसभा सदस्य जितेको छ । एकीकृत समाजवादी दैलेख, सल्यान र डोल्पामा विजयी बनेको छ । कर्णालीमा कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल भए पनि चुनावी तालमेलका कारण नतिजामा फेरबदल हुने गरेको छ । २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल हुँदा कांग्रेसले सबै क्षेत्रमा पराजय भोग्नु परेको थियो ।

यस्तै कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम पनि आइसकेको छ । यहाँ प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकका १६ गरी ४० वटा सीट छन् । सत्तारुढ गठबन्धनको चुनावी तालमेलले प्रदेशसभामा पनि दलहरूको शक्ति सन्तुलन पनि फेरिएको छ ।  

२०७४ सालको चुनावमा प्रदेशसभाको पहिलो दल एमाले अहिले तेस्रोमा खुम्चिएको छ । यो चुनावमा एमाले प्रत्यक्षतर्फ पाँच सीटमा सीमित भएको हो । अघिल्लो चुनावमा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ६ गरी २० वटा सीट जितेको थियो । यसपालि समानुपातिकसहित एमालेले अधिकतम् १० सीट पुर्‍याउने आकलन गरिएको छ । 

सत्तारुढ गठबन्धनसँग एक्लै चुनावमा भिडेको एमालेलाई पार्टी विभाजनको असरले पनि नतिजामा प्रभाव पारेको देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी भने कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य भएको छ । सत्तारुढ गठबन्धनको भागबन्डामा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको समाजवादी दुवैमा पराजित भएको हो । 

२०७४ मा प्रदेशमा एउटा मात्रै प्रत्यक्ष सीट जितेको नेपाली कांग्रेस तेस्रो दल थियो । यसपटक गठबन्धनको बलमा उसले नौ सीट जितेको छ । कांग्रेसले दैलेखका तीन र जाजरकोटका दुई वटै निर्वाचन क्षेत्रमा जितेको छ । त्यसैगरी, सल्यान, सुर्खेत, कालीकोट र हुम्लाका एक÷एक वटा क्षेत्रमा कांग्रेस विजयी बनेको हो । 

अहिले चुनावी तालमेल फेरिए पनि प्रदेशमा माओवादी केन्द्रको नतिजा भने यथावत् छ । अघिल्लो पटकजस्तै माओवादीले यसपालि पनि प्रत्यक्षमा नौ वटा सीट जितेको छ । १० स्थानमा उम्मेदवारी दिएको माओवादीले एक सीटमा हार बेहोरेको छ । प्रत्यक्षतर्फको मतगणना सकिँदा कर्णाली प्रदेशसभामा माओवादी केन्द्र र नेपाली कांग्रेसले बराबर सीट ल्याएका छन् । यी दुई दलमध्ये पहिलोे को बन्ने भन्नेमा समानुपातिक मतपरिणामले निर्धारण गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया