ओलीको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावना पनि देखिन्छ

 मंसिर १२, २०७९ सोमबार १३:२२:२५ | भेषराज घिमिरे
unn.prixa.net

यस पटकको चुनाव शान्तिपूर्ण रह्यो । अब करिब करिब अन्तिम परिणाम आउन बाँकी नै छ । अहिले हेर्दा केही सिट सङ्ख्याले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र त्यसको निकटतम् तथा उस्तै उस्तैको हाराहारीमा नेकपा एमाले स्थापित हुँदैछ । अहिले हेर्दा के देखिन्छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कार गरेको छ । हुन त यसअघि पनि हामीले भनेका थियौँ अहिले नागरिकहरुले व्यापक रुपमा मत परिवर्तन गर्छन् र त्यो मत परिवर्तन सहर केन्द्रित हुन्छ भनेका थियौँ । 

यो अपेक्षित थियो । यसकारण कि लामो समय सत्तामा बसेका सत्ताको दोहन गरेका, सरकार सञ्चालनको मुख्य मसिहा भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका दलहरु सत्ता केन्द्रित भए । विकास उनीहरुले गाउँ गाउँ पुर्याउन सकेनन् । नागरिकसँगको सम्बन्धदेखि उनीहरु धेरै टाढिए । सहरिया संस्कृतिसँग उनीहरु लिप्त भए । आर्थिक अवस्थाबाट देश अहिले जसरी गुज्रिरहेको छ यसको निकास के हो भन्ने उनीहरुसँग उपाय पनि देखिएन, सुशासनको अवस्था हेर्ने हो भने विकृति, विसङ्गति र प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको जालो धेरै बढिरहेको हुनाले पनि यो अपेक्षित नै थियो । 

अहिले नयाँ आएका दलहरु भरपर्दा हुन्छन् भनेर भन्दा पनि अहिले नेपाली कांग्रेस र एमालेको विकल्प के त ? यी दलहरुले लामो समय सत्तामा बसेर नागरिकका चाहनाहरुलाई उल्लेखनीय रुपमा सम्बोधन गर्न सकेनन् । र, राष्ट्रिय स्वतन्त्र पार्टी जसको अध्यक्ष रवि लामिछाने हुनुहुन्छ उहाँले मिडियामार्फत् नागरिकका आवाजहरु, प्रशासनिक विकृतिहरु दूरदराजका नागरिक समक्ष पुर्याउने काम गर्नुभयो । यसबाट नेपालमा रहेका मात्र होइन विदेशमा रहेका नागरिहरुले पनि के ठाने भने नेपाल साँच्चै भ्रष्टाचार मुक्त हुने हो भने रवि लामिछानेको पार्टीलाई मत हाल्नुपर्छ भनेर घर घरमा बुबाआमा तथा परिवारका सदस्यहरुलाई अनुरोध गरे । यसबाट पनि सहर केन्द्रित मत परिवर्तन त अपेक्षित नै थियो तर गाउँ, दूरदराजबाट पनि रवि लामिछानेको पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । 

राजनीतिमा कुनै एउटा भेल आएर एकै पटक निरन्तर रुपमा टिकिरहन्छ भन्ने छैन । रविजीको पार्टी युवाहरुको पार्टी र लोकप्रिय पार्टीको रुपमा रहेको छ । यसले विकासका कुरा, सुशासनका कुरा मुख्य नारा बनाएको छ । तर, उहाँहरु पाँच वर्षसम्म राजनीतिमा कसरी टिक्नुहुन्छ, सत्ता गठबन्धनलाई उहाँहरुले कसरी अगाडि बढाउनुहुन्छ, उहाँहरु सत्ताको लोभमा फस्नुहुन्छ वा फस्नुहुन्न, सत्तामा रहेर उहाँहरुले के दिन सक्नुहुन्छ, उहाँहरुले साँच्चै परिकल्पना गरेका, प्रतिबद्धता जाहेर गरेका कुुराहरुमा उहाँहरु कति संवेदनशील हुनुहुन्छ यसबाट पनि पाँच वर्षपछि उहाँहरुका पार्टीको भविष्य तय हुन्छ । 

हामीले अहिले के देखेका छौँ भने नेपालको आर्थिक अवस्था एकदमै कमजोर छ । रेमिट्यान्स र वैदेशिक ऋण तथा अनुदान आएन भने देश चल्न सक्ने अवस्थामा छैन । देशको उत्पादनले कर्मचारी निकायकोे सार्वजनिक खर्च धान्न सक्ने अवस्था छैन । तर पनि नागरिकहरुले के चाहेका छन् भने नागरिकता लिँदा सास्ती नहोस्, पासपोर्ट लिँदा, विदेश जाँदा घुस खुवाउन नपरोस् अथवा सरकारी निकायबाट जे जे सुविधा पाइन्छ त्यो अतिरिक्त शुल्क पाइयो भने पनि नागरिकहरुले त्यसलाई विकास ठानेका छन् । रविजीको पार्टी आएर ठूलो कायापलट गर्ने, बिजुली उत्पादन गरेर बेच्नसक्ने गरिको आर्थिक समृद्धि हुन्छ भनेर पनि कसैले नठाने हुन्छ । किनकि हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ । तर, पुराना दलहरुले यति पनि गरेनन् । जुन प्रशासनिक सुधारका काम हुन् त्यसलाई पनि अहिले नागरिकले विकास ठानेका छन् । र, पुराना पार्टीहरुले गर्न नसकेका कारणले रविजीको पार्टी अहिले लोकप्रिय पार्टीकोरुपमा स्थापित भएको छ । तर, हेर्नुपर्ने हुन्छ कि उहाँहरुले जित्नु ठूलो कुरा होइन, उहाँहरु कसरी टिक्नुहुन्छ, उहाँहरुले आफ्ना गतिविधिहरु, पार्टीका क्रियाकलापहरु कसरी अगाडि बढाउनुहुन्छ त्यो हेर्न बाँकी छ । बाहिर बसेर गाली गर्न र भित्र बसेर व्यवस्थापन गर्नु एउटा जटिल कुरा हो । र, उहाँहरुले यसलाई कसरी अगाडि बढाउनुहुन्छ उहाँहरुको भविष्य त्यसैमा निर्भर हुन्छ । 

गठबन्धनमा सबैभन्दा घाटा कांग्रेसलाई 

यो चुनावमा सबैभन्दा धेरै घाटा नेपाली कांग्रेसलाई लागेको छ । किनभने नेपाली कांग्रेसले सङ्गठन बिस्तारै मजबुत बनाउँदै थियो । र युवा नेतृत्व सत्तामा जान्छ भनेर आशा गरेका थिए । त्यसकारण कांग्रेसप्रति आस्था थियो । गगन, विश्वप्रकाश जस्ता युवा नेतृत्वले आशा जगाएको थियो । देशको प्रधानमन्त्रीसम्म रहेर जिम्मेवारी पूरा गरेर देशको कायापलट गर्छन् कि, सङ्गठनलाई मजबुत बनाउँछन्, सरकार प्रभावकारी बनाउँछन् भन्ने एउटा आशा थियो । तर, गठबन्धनको कारणले नेपाली कांग्रेसलाई घाटा छ । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई यसले फाइदा पुर्याएको छ । किनकि उहाँहरुको जनस्तरमा सम्बन्ध खस्किसकेको थियो । नेपाली कांग्रेस २/४ सिटले ठूलो पार्टी देखिए पनि ठूलो सञ्जाल भएको पार्टीको नाताले बहुमतसम्म पनि पुग्न सकेन । हुनत् मिश्रित निर्वाचन प्रणालीमा नेपाली कांग्रेसले मात्र सरकार बनाउने हैसियत राख्दैन । गठबन्धन नगरेको भए कार्यकर्तामा असन्तुष्टि हुँदैनथ्यो । धेरै कार्यकर्ताले टिकट पाउँथे । सबैजना उम्मेदवार बन्थे । 

गठबन्धन नै खिचलो प्रक्रिया भएको हुनाले त्यसो गर्नुहुने थिएन । अब प्रधानमन्त्री चुन्दा सरकार बनाउँदा गठबन्धन गर्ने हो । यो मिश्रित निर्वाचन प्रणालीमा कसैको पनि बहुमत आउँदैनथियो । तर, माओवादीको के थियो भने उनीहरु जुन जनयुद्धमा लागे, परिवर्तनका एजेण्डाहरु बोकेर लागे, जनजाति, दलितका मुक्तिका कुरा लिएर लागे र गीत गाए, क्रान्तिका एजेण्डा बोकेर हिँडेका पार्टीका नेतृत्वहरु ऋहिले सत्तामा रमाएका थिए, नागरिकबाट टाढिएका थिए, पजेरो संस्कृतिमा भिजेका थिए । त्यसकारण माओवादीले अहिले पाएको मत भनेको गठबन्धनकै कारण पाएको हो अन्यथा माओवादी योभन्दा सानो पार्टी हुन्थ्यो । गठबन्धनमा हेर्दा नेपाली कांग्रेसको धेरै मत उहाँहरुलाई मिसाएर जित्नुपर्ने हुँदा उहाँहरुले मत पाइएन भन्नु भएको होला । तर, शतप्रतिशत अरुको मत स्थानान्तरण हुने भन्ने कुरा त भएन नि । यसमा त ५० प्रतिशत पनि मुश्किलले मत परिवर्तन भयो होला । तर, नेपाली कांग्रेस त्यसरी योजनाबद्धरुपमा लागेको होइन । नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो कि त्यहाँ स्वतन्त्रता अधिक छ । अधिक स्वतन्त्रता भइसकेपछि कार्यकर्तामा अनुशासनको कमी देखिन्छ । त्यसकारण नेपाली कांग्रेसकाले आफ्नो पार्टीकालाई त मत दिएनन्, आफ्नै नेतृत्वलाई त मत दिएनन् भने अरु पार्टीमा दिने कुरामा पनि कमी भयो होला । तुलनात्मक रुपमा हामी के भन्न सक्छौँ भने नेपाली कांग्रेसले गठबन्धन नगरेको भए राम्रो स्थितिमा रहन्थ्यो । 

नेकपा एमालेको कुरा गर्दा कडा अनुशासन छ । सङ्गठन बलियो भएको पार्टी हो । उसले राष्ट्रियताका मुद्दाहरु जबरजस्त उठाएको छ । उसले केपी ओलीको नेतृत्वमा केही नाराहरु ल्याएको छ । सङ्गठन बलियो भएका कारण नेकपा एमालेले ल्याएको मतलाई अनपेक्षित भन्न सकिँदैन । बलियो पार्टी भएको हुनाले यसले ल्याएको मत स्वाभाविक नै हो । 

एमालेलाई यो चुनावमा फाइदा भएको छ । सत्ता गठबन्धन भएपछि त्यसमा किचलो देखियो । मान्छेहरु असन्तुष्ट भए । कांग्रेसभित्र अन्तरघातका शृङ्खलाहरु बढ्दै गए । धेरै ठाउँमा नेकपा एमालेलाई पनि फाइदा भएको छ । पार्टीभित्रको जनु असन्तुष्टि थियो, कारबाहीका कुराहरु थिए जसले गर्दा कर्णाली र सुदूरपश्चिममा भने एमालेलाई घाटा भएको देखिन्छ । चुनावमा जाँदा नेताहरुले सबै सिट जित्छौँ, एकल नेतृत्वमा सरकार बन्छ भनेर भन्नु चुनावी नारा हो । प्रत्येक पार्टीले भन्छ । दश सिटमा उम्मेदवारी दिएको पार्टीले पनि मेरो नेतृत्वमा सरकार बनाउँछु भनेर भन्छ, यो भनेको चुनावको एउटा फन्डा हो । त्यसकारण एकल बहुमत आउँछ र सरकार बनाउँछु भन्ने ओलीलाई पनि लागेको थिएन । यो चुनावको एउटा नारा मात्र थियो केपी ओलीको नेतृत्वमा जुन मत आएको छ त्यसमा एमाले दंग छ किनकि सबै दलहरु एकातिर हुँदा पनि एमालेले त्यत्रो सिट जित्नु भनेको ठूलो सफलता हो । अझ यसमा त एमालेलाई भएको फाइदा गठबन्धनका कारण पनि भएको जस्तो लाग्छ । 

हिजो मधेसको विरासत बोकेका पार्टीहरु मधेस मुक्तिको नारा दिएका पार्टीहरुमा साँच्चै मधेसमा अब सुशासन चाहिन्छ, मधेसमा विकास चाहिन्छ, मधेसीको न्यायका लागि लड्छौँ भनेर जानु भने व्यवहारतः उनीहरुले काम गरेनन् । जतिबेला चुनाव आउँछ, चुनावको मुखमा आउँछन् त्यतिबेला नागरिकताको कुरा उठाउँछन्, मधेसी हेपिएका कुरा उठाउँछन् त्यसकारण वास्तवमा त्यहाँका नागरिकले के बुझे भने हाम्रो नेतृत्वले हाम्रो लागि गर्नेवाला छैनन् । त्यसकारण उनीहरुले पनि परिवर्तन खोजेका थिए । स्थिर रुपमा त्यहाँका नेतृत्वले त्यहाँका मुद्दा सम्बोधन गरेका थिएनन् । त्यो दिशामा अगाडि बढेका थिएनन् । त्यो अभियानमा अगाडि बढेका थिएनन् । त्यसकारण मधेसी नागरिकले पनि परिवर्तन खोजेका थिए । यहाँ मधेसी र पहाडीको कुरा थिएन । यहाँ विकास र सुशासनको कुरा थियो । त्यसकारण नयाँ व्यक्तिलाई पत्याउनु नयाँ कुरा होइन । 

सीके राउत जसले सुशासनका कुरा उठाए, जसले आन्दोलनमा मधेसीहरुलाई लिएर हिँडे, राष्ट्रियताका कुरामा पनि केही कुरा जोडिए होलान । तर, पुराना मधेसी रैथाने पार्टीहरुले मधेसी नागरिकको भावनाको कदर गर्न सकेनन् । सत्तामा लिप्त रहे । उनीहरुले आफ्नो स्वार्थ कसरी डोरिन्छ त्यो हेरेर रातारात गठबन्धन परिवर्तन गर्ने, सत्तालाई अस्थिर बनाउने, वास्तवमा भन्ने हो भने जुन पुराना रैथाने मधेसी पार्टीहरु छन् तिनका कारण केन्द्रीय सत्तामा पनि यो अवस्था आएको हो । त्यसकारण यही कारणले मधेसका पुराना पार्टीहरुलाई पनि धेरै घाटा भयो । 

अहिलेको नतिजाले दलहरु जिम्मेवार हुने हो भने सरकार अस्थिर हुँदैन । किनभने हामीले यस्तो निर्वाचन प्रणाली अपनाएका छौँ त्यहाँ एक दलको पूर्ण बहुमत आउँदैन । धेरै साना दलहरुको पनि संसदमा उपस्थिति छ त्यसकारण हामीले गठबन्धनको संस्कृतिलाई जगेर्ना गर्न सक्नुपर्छ । अब अहिले आएर के भनिन्छ भने अस्थिर हुन्छ, मध्यावधि हुन्छ । अहिले पनि मध्यावधि गराउने खेलमा नेताहरु लाग्ने हो भने यो गणतन्त्र भन्ने रहँदैन अब । यो यसकारण कि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको वकालत गर्दै आएको छ, यो देशमा राजा चाहिन्छ भनेको छ त्यो पार्टीप्रति मान्छेहरुको झुकाव बढ्दै जान्छ । किनकि धेरै अस्थिरता भयो भने हामीले गणतन्त्रलाई जुन उपलब्धि भनेका छौँ त्यो नै गुम्ने हुन्छ । त्यसकारण जिम्मेवार दलहरु जे आन्दोलनमा लागेका थिए यो देशको परिवर्तनको वाहक भएका मुख्य दलहरुले नै जिम्मेवार भएर पाँच वर्ष सत्ता टिकाउनु पर्छ । पाँच वर्ष सककार टिकेन र ६/६ महिनामा सरकार बन्ने र ढल्ने खेलहरु भए र मध्यावधिमा जाने अवस्था भयो भने यो सङ्घीयता भन्ने सायद अर्को चुनावमा नरहन सक्छ । र गणतन्त्र पनि अप्ठ्यारोमा पर्न सक्छ जस्तो लाग्छ । 

सरकारका विभिन्न सम्भावना

अहिले देखिएको विकल्पमा गगन थापाको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने सम्भावना छ भने केपी ओली समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्न सक्ने सम्भावना पनि देखिन्छ । अर्को भनेको शेरबहादुर देउवा पार्टी सभापति तथा पार्टीभित्र पनि उहाँको पकड भएका कारण उहाँले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने सम्भावना छ । 

शेरबहादुर देउवा लामो समय सत्तामा बसेर जिम्मेवार राजनीति गरेका कारण उहाँले गगन थापालाई सरकारको नेतृत्व सुम्पनु पर्ने हो । उहाँ जस्तो पाको पार्टी सभापतिले अब पनि युवालाई नेतृत्व दिनु भएन भने नेपाली कांग्रेस पार्टी पनि थियो र भन्ने एउटा अवस्थामा जान सक्छ । यदि गर्नु भएन भने उहाँहरुले जुन परिकल्पना गरेर लोकतन्त्र, गणतन्त्र भनेर जुन भनिरहनु भएको छ यो अवस्था पनि गुम्न सक्छ । 

कांग्रेसमा धेरै नेताहरु प्रधानमन्त्रीमा दाबी गरिरहनु भएको छ र अग्रज नेताहरुले भनिरहनु पनि भएको छ तर, प्रधानमन्त्रीको पद एउटा भएको र सबैलाई प्रसाद बाँडे जस्तो बाँड्न नसकिने हुनाले आउँदाे लोकतन्त्रको भविष्यलाई हेर्ने हो भने युवालाई सत्ता हस्तान्तरण गर्नुपर्छ । 

शेरबहादुर देउवाले युवालाई नेतृत्व हस्तान्तरण गर्नुभयो भने रविजीको पार्टीले समर्थन गर्छ । गठबन्धनका दलहरुले समर्थन गर्छन् । रविजीको पार्टी अहिले सरकारमा नजाने भने पनि उहाँहरुले के का लागि जितेको त ? बाहिर बसेर गाली गर्नु, धारे हात लाउनु र सत्तामा गएर जिम्मेवारी निर्वाह गर्नु फरक कुरा हो । रविजी सत्ताबाट भाग्न सक्नुहुन्न । उहाँ भाग्न पाउनुहुन्न । किनकि नागरिकका जे जे एजेण्डाहरु ती पूरा गर्छु भनेको सडकबाट पूरा हुँदैनन् । ती सत्ताबाट मात्र पूरा हुन्छन् र उहाँको अभिव्यक्ति हेर्दा पनि सत्ताको वार्ताका लागि बोलाउँदा हामी आउँछौँ भन्ने खालको आएको हुँदा उहाँको पार्टी सत्तामा जान्छ । गगन थापाको नेतृत्वमा सरकार बन्यो भने रवि लामिछानेलगायतका अहिलेको सत्ता गठबन्धनका पार्टीहरु सत्तामा सहभागी हुन्छन् । अनि यो लोकप्रिय सरकार हुन्छ । 

देउवा सत्ता सञ्चालनका चतुर खेलाडी हुनुहुन्छ । अङ्कगणितीय जोड घटाउमा उहाँ एकदम क्षमतावान मान्छे हुनुहुन्छ । उहाँले ठूलाठूला नेताहरु तथा पार्टीहरु मिलाएर सत्ता सञ्चालन गरिरहनु भएको छ । किनकि २३ सिट जितेको पार्टीले राष्ट्रिय सरकार बनाउन सफल भएको हुनाले उहाँले मधेसवादी र यही पुरानै टिमलाई बहुमत पुगेसम्म जोड्ने कोसिस गर्नुहुन्छ । 

ओलीको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावना पनि देखिन्छ । ओलीको मुख्य चाहना भनेको गठबन्धन टुटाउने हो । ओलीको चाहना आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्डले नचाहने सम्भावना भएकोले अप्ठ्यारो पर्दा उहाँहरुले लगाउने बृहत् बाम एकताको नारामा प्रचण्डलाई सरकारको नेतृत्वमा पुर्याउने पनि उहाँको चाहना हुनसक्छ । प्रचण्डको नेतृत्वमा बाम एकताको नाममा सरकार बन्न अहिले बहुमत नपुग्ने देखिए पनि सत्ताको लोभमा साना दलहरु आउने हुँदा बहुमत पुग्ने देखिन्छ । सरकारमा जाने कुरामा नेपालमा सिद्धान्तको आर्दश र संस्कृतिदेखि सकिएको हुनाले त्यो असम्भव छैन । यहाँको दलीय अनुशासन र अन्य अनुशासन देखिएको कारणले यो असम्भव देखिँदैन किनकि पार्टी फुटाएर पनि यहाँ सरकारमा गएका धेरै उदाहरण छन् । यहाँ सत्ताका लागि पार्टी फुटाउने र टुक्रा टुक्रा बनाउने खेल पनि देखिएको छ त्यसकारण यो असम्भव देखिँदैन । 

केपी ओली नेतृत्वमा सरकार बन्ने सम्भावना किन देखिँदैन भने त्यसका लागि प्रचण्डलाई कहाँ राख्ने भन्ने समस्या देखिन्छ । र, पार्टी एकता नगरि नेकपा माओवादी सत्तामा नजाने हुनाले पनि केपी ओली नेतृत्वमा सरकार बन्ने सम्भावना कम छ । तर, गगन थापा नेतृत्वमा भने माओवादी सरकारमा जान्छ किनकि त्यहाँ भागबण्डा लगाउने सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदहरु छन् । ती पदहरु मिलाउँदा नेकपा माओवादी थापा नेतृत्वमा सरकारमा जाने सम्भावना धेरै देखिन्छ ।

कांग्रेस र एमाले मिलेर सरकार बन्नु भनेको लोकतन्त्रको विनाश हो । संसारमा कहीँ पनि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाए भने त्यहाँ लोकतन्त्र छैन भन्ने मान्नुपर्ने हुन्छ । बचेखुचेको लोकतन्त्र पनि सकिन्छ । संसदमा विपक्षी को हुने ? दुई सिटे, चार सिटे विपक्षी भएर पनि संसद् उपयोगी हुन्छ । त्यहाँ त उनीहरुको बहुमतको बलमा एउटा तानाशाही जन्मन्छ त्यसकारण एमाले र कांग्रेस मिलेर सरकार बनाउने तयारी हो भने लोकतन्त्र धरापमा छ भनेर मान्दा हुन्छ । 

स्थिरताको कुरा गर्दा हामीले त्यस्तो स्थिरताको कुरा पनि गरेका होइनौँ । नागरिकले त अहिले उपलब्धि खोजेको हो विकास खोजेको हो । त्यसकारण आवधिक चुनावसम्म भए पनि गठबन्धन सरकार बनाउ र अरु नभए पनि सुशासनका कुरा मात्र देउ । शान्तिपूर्ण रुपमा बाँच्न र गरी खान देऊ भन्ने न हो । पढ्न देऊ, गाउँहरु खाली भएका छन् भर्ने प्रयत्न गर, र सरकारी कामकाज गर्दा घुस नदिइ काम होस् भन्ने नै अहिले नागरिकले चाहेका छन् । 

सरकारको कुरा गर्दा कांग्रेस र एमालेको पनि सम्भावना त छ तर त्यो ज्यादै न्यून सम्भावना हो । यो लाजमर्दो सम्भावना पनि हो । तर, चुनाव अगाडि नै गगन थापाले प्रधानमन्त्रीको दाबेदार हो भनिसक्नु भएको छ । त्यस किसिमले युवाहरुले हेरिसक्नु पनि भएको छ । अरु पार्टी नेकपा एमाले तथा माओवादीले पनि अब पुस्तान्तरण चाहेका छन् । अब सत्तामा पुस्तान्तरण हुनुपर्यो भनेर यी पार्टीका युवाहरु पनि लागिपरेका छन् । युबामा सत्ता आयो भने ती पार्टीका युबामा पनि आशा जाग्छ । यसबाट एमाले तथा माओवादीले पनि दुःख मान्नुभन्दा खुसी मान्नुपर्ने हुन्छ । रवि लामिछानेजीले समर्थन जुटाउन सक्नुहुन्छ भने उहाँ पनि प्रधानमन्त्री हुन सक्नुहुन्छ । किनकि उहाँको पनि उल्लेख्य सिट आइसकेको छ । 

अहिले हेर्दा गगन थापाको नेतृत्वमा सरकार बन्ने सम्भावनाको पहिलो सम्भावना छ । दोस्रो सम्भावना शेरबहादुरको नेतृत्वमा र अर्को भनेको प्रचण्डको नेतृत्वमा त्यो पनि एमालेको समर्थनमा । कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेको कम सम्भावनाको कुरा हो । र, त्यो गर्नुहुँदैन भन्ने पनि हो । 

हामीकहाँ गृहमन्त्री कसले पाउने, अर्थमन्त्री कसले पाउने अनि यी मन्त्रालय नपाए छोड्छु भन्ने पार्टीहरु भयो भने हामीलाई लोकतन्त्र किन चाहियो । तपाईँ निर्वाचन प्रणाली चाहिँ दलित, पिछडिएका सबै जो चुनावमा जान सक्दैनन् तिनलाई राजनीतिमा ल्याउनु पर्छ भनेर हिजो आन्दोलन गरेर उनीहरुलाई ल्याउनुहुन्छ अनि कुनै एउटा दलको सरकार बन्न सक्ने अवस्था रहँदैन यो प्रणालीमा संसारभर त्यसकारण कि हामी लोकप्रिय मतको आधारमा प्रधानमन्त्री बनाउने व्यवस्थामा जाउँ । यदि होइन भने संसदीय अङ्क गणितलाई मान्ने हो यो गठबन्धनको संस्कृतिलाई जोगाउनु पर्छ । यदि मध्यावधिको खेलमा उहाँहरु लाग्ने ६/६ महिनामा प्रधानमन्त्री फेर्ने, आलोपालो संस्कृतिमा लाग्ने हो भने लोकतन्त्रका लागि नागरिकहरु सडकमा आउनेवाला छैनन् । यसले लोकतन्त्र गुम्ने खतरा हुन्छ । जुन राप्रपाको मत बढिरहेको छ, त्यसमा पनि सहर केन्द्रित । अहिलेसम्म समानुपातिकमा राप्रपाको मत बढी छ । यसले के देखाउँछ भने देशको राजधानीले राजा चाहेको छ । के अब हामी राजालाई खोज्दै हिँड्ने ? लोकतन्त्र त्यसका लागि हो ? नागरिकले त्यसका लागि आन्दोलन गरेका हुन् ? नेताहरुले कुरा बुझ्नु पर्दैन ?

सरकारलाई स्थिर बनाउन पनि अहिलेको रवि लामिछानेलगायतका साना दलहरुको पनि भूमिका हुन्छ । यो सरकार पाँच वर्ष टिकाउन रवि लामिछानेको पार्टीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यदि उहाँले आफूलाई यो पाँच वर्ष परिपक्व नेताको रुपमा प्रस्तुत गर्नुभयो भने पाँच वर्षपछि उहाँको पार्टी पनि ठूलो पार्टीको रुपमा वा अहिलेको कांग्रेस, एमाले जत्तिको वा त्यो भन्दा पनि ठूलो दल बन्ने हैसियत राख्न सक्छ । यसका लागि उहाँ आफूले बाहिर बोलेका कुरा र भित्रका कुरा अनि स्थायी रुपमा टिक्न सक्नुपर्यो । राजनीतिमा टिकाउ, स्थिरता, सहनशीलता पनि ठूलो कुरा हो । उहाँले सडकमा कुनै कुराको बारेमा बोलेर जुन मत प्राप्त गर्नु भएको छ त्यस्तै सरकार सञ्चालनमा पनि उहाँले कस्तो विधि, पद्धति अपनाउनु हुन्छ, आफ्ना व्यवहार कसरी प्रस्तुत गर्नुहुन्छ, कार्यकर्तालाई कसरी व्यवस्थापन गर्नुहुन्छ अनि लाभका पदमा कार्यकर्तालाई नियुक्ति दिँदा कसरी दिनुहुन्छ यी कुराहरु नागरिकले मनन गर्नेछन् । 

यो चुनावमा एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीलाई भोट हालेको छ । करिब २० प्रतिशत मत कांग्रेसले एमालेलाई हालेको छ भने एमालेले नेपाली कांग्रेसलाई मत हालेको छ । त्यो पार्टीभित्रको चरम असन्तुष्टि हो । दलहरुप्रति नागरिकको चरम असन्तुष्टि हो । नागरिकमा पटक पटक जान्छन् माला लगाउँछन् अनि उनीहरुको आर्थिक अवस्था पनि धेरै असमान छ । नागरिकले बिरामी हुँदा सिटामोल पाउँदैन । सरकारी शिक्षामा पनि पैसा तिर्नुपर्छ । योभन्दा विडम्बना के हुन्छ ? खेती गर्ने समयमा किसानहरुले मल पाउँदैनन् समयमा । यस्ता कारणले सहरमा पार्टीहरुले आफ्नो वर्चश्व गुमाइसकेका छन् । पहाडी र हिमाली जिल्लामा भने केही बाँकी छ । यो सुधारिने मौका पनि हो । अब पाँच वर्षमा पनि सुध्रेनन् भने भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भने जस्तो हो । 

(घिमिरेसँगको कुराकानीमा आधारित)             

अन्तिम अपडेट: पुस २९, २०७९

भेषराज घिमिरे

घिमिरे त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया