महामन्त्रीहरूको जित र महासचिवहरूको हारको अर्थ

 मंसिर १२, २०७९ सोमबार १३:४३:४१ | मिलन तिमिल्सिना
unn.prixa.net

एमालेका शंकर पोख्रेल र माओवादीका देव गुरुङ तथा कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माको चुनावी नतिजा सार्वजनिक भएपछि धेरैले टिप्पणी गरे– महाधिवेशनले चुनेकाहरू जिते, अध्यक्षले छानेकाहरू हारे । एमाले महासचिव पोख्रेल र माओवादी महासचिव गुरुङ दुवै जनाले पार्टी महाधिवेशनमा प्रतिस्पर्धा गर्नुपरेन । दुवैलाई आ–आफ्ना अध्यक्षले टीका लगाएर महासचिवको पद सुम्पिए । तर कांग्रेसका दुई महामन्त्री थापा र शर्मा दुवैले पार्टी महाधिवेशनमा समेत चुनावी प्रतिस्पर्धा गरे । महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी गराए । 

महाधिवेशनमा प्रतिनिधिको मन जितेर महामन्त्री भएका कांग्रेसका गगन र विश्वले यस चुनावमा मतदाताको मत पनि जिते । तर एमालेका पोख्रेल र माओवादीका गुरुङलाई अध्यक्षले पत्याए पनि मतदाताले हराइ दिए । अथवा मतदाताको मन जित्न नेतृत्वलाई रिझाउन जस्तो सजिलो छैन । एमालेको मात्रै कुरा गर्ने हो भने त अध्यक्ष केपी शर्मा ओलीको नजिक मात्रै बस्न खोज्ने तर गलत कदमलाई गलत भन्न नसक्ने धेरै नेताहरू यो चुनावमा नराम्ररी पछारिए ।

काठमाण्डौ ५ मा तनहुँका कांग्रेस युवा नेता प्रदीप पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराए । पोखरेल पार्टीभित्र गुट फेरिरहने र पछिल्लो समय ओलीको दाहिने हातको रूपमा चिनिनुहुन्छ । पहिले झलनाथ खनालको निकट रहेका पोखरेल एमालेको नवौँ महाधिवेशनबाट ओलीको कित्तामा उभिनुभयो र ओलीको निकट रहेर काम गर्न थाल्नुभयो । ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटन गर्दा पोखरेलले साथ दिनुभएको थियो । पार्टीको १० औँ महाधिवेशनमा ओलीलाई चुनौती दिन सक्ने हैसियत भए पनि पोखरेलले वरिष्ठ उपाध्यक्षमा बसेर ओलीलाई नै अघि सार्नुभयो । आफ्नो हरेक कदम र निर्णयमा साथ दिने पोखरेललाई पनि ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सुम्पनुभयो । तर ओलीले पोखरेललाई गरेजति विश्वास मतदाताले गरेनन् ।

पार्टीभित्रको शक्तिशाली पद महासचिवको जिम्मेवारी पाएका शंकर पोखे्रल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित हुनुभयो । ओलीको विश्वासपात्र भनेर चिनिने पोख्रेललाई एमालेमा ओलीपछिको नेतृत्व लिन सक्ने नेताको रूपमा पनि चिनिन्छ । पार्टीको १० औँ महाधिवेशनमा महासचिवको आकाङ्क्षा गर्नेहरू धेरै भए पनि ओलीले शंकरलाई नै महासचिवको जिम्मेवारी सुम्पनुभयो । यसअघि शंकर पोख्रेल लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुमा पनि ओलीकै साथ र हात थियो । ओलीले यति धेरै विश्वास गर्ने शंकर पोख्रेललाई पनि मतदाताले विश्वास गरेनन् ।

एमालेका अर्का ‘रेल’ अग्नि खरेल यसअघि ओली प्रधानमन्त्री रहँदा महान्यायाधिवक्ता हुनुहुन्थ्यो । ओलीलाई कानुनी सल्लाह दिनुपर्दा सुवास नेम्वाङ र अग्नि खरेल प्रायः सँगसँगै बस्नुहुन्छ । ओलीले नेम्वाङलाई जत्तिकै खरेललाई पनि विश्वास गर्नुहुन्छ । ओलीको यही विश्वासका कारण खरेलले यस पटक झापा १ बाट टिकट पाउनुभयो । तर कांग्रेसका विश्वप्रकाशसामु उहाँको केही लागेन, पराजित हुनुभयो ।

ओलीसँग नजिक सम्बन्ध भएर पराजित हुने अर्का नेता हुनुहुन्छ, उपमहासचिव प्रदीप ज्ञवाली । २०७४ सालको चुनावपछि ओली प्रधानमन्त्री हुँदा ज्ञवाली परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । ज्ञवाली पनि ओलीलाई ‘अन्ध’ समर्थन गर्ने नेतामा पर्नुहुन्छ । ओलीले प्रतिनिधि सभा विघटन गर्दा र तत्कालीन नेकपाको विवादका बेलामा ज्ञवालीले ओलीलाई बलियो साथ दिनुभयो । यसअघि २०७४ को प्रतिनिधि सभाको चुनावमा गुल्मी १ बाट निर्वाचित भएका ज्ञवाली यस पटक भने त्यही क्षेत्रमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग पराजित हुनुभयो ।

ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार तथा पार्टीको विदेश विभागका प्रमुख राजन भट्टराई पनि पराजित हुनुभयो । यसअघिको चुनावमाजस्तै यस पटक पनि उहाँलाई काठमाण्डौ ४ बाट कांग्रेस महामन्त्री गगन थापाले पराजित गर्नुभएको हो ।

एमाले विभाजन भएको बेलामा ओलीलाई साथ दिएका पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन १ बाट पराजित हुनुभयो । ओलीलाई अरू नेताहरूले आलोचना गर्दा बचाउ गर्ने लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्ण राई, शान्ता चौधरी, महेश बस्नेत, यज्ञ बोगटी, नवराज सिलवाल, किरण पौडेल जस्ता जल्दाबल्दा एमाले नेताहरूले यस पटक चुनाव हारे । 

ओलीकै नजिक भएर काम गर्ने सुवासचन्द्र नेम्वाङ, सूर्य थापा, गोकुल बाँस्कोटा, पृथ्वी सुब्बा गुरुङ तथा ओलीलाई फुटबलका पेलेसँग तुलना गर्ने कृष्णगोपाल श्रेष्ठ भने निर्वाचित भएका छन् । एमाले विभाजनका बेलामा ओलीको पक्ष लिने योगेश भट्टराई, गोकर्ण विष्ट तथा माओवादीको साथ छोडेर ओलीको काँध थाप्न आइपुगेका टोपबहादुर रायमाझी पनि चुनाव जित्न सफल भएका छन् । 

कडा चुनावी प्रतिस्पर्धाकाबीच विजयी हुन सफल एमालेका अर्का नेता हुनुहुन्छ, उपमहासचिव विष्णु पौडेल । माओवादीसँगको एकतामा उहाँको भूमिका महत्त्वपूर्ण थियो । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको शक्तिशाली महासचिवको रूपमा विष्णु पौडेलले नै काम गर्नुभयो । तत्कालीन नेकपामा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैको विश्वास उहाँमा थियो । दुई नेताको समन्वयकारी भूमिकामा पौडेलले काम पनि गर्नुभयो । तर एमाले–माओवादी एकता भत्किएसँगै पौडेलको महासचिव पद गयो । दुई पार्टीको एकता भएर बनेको नेकपामा पौडेल शक्तिशाली हुनुहुन्थ्यो, ईश्वर पोखरेल, शंकर पोख्रेल लगायत नेताहरू छायामा थिए । तर एकता भत्किएपछि पौडेल छायामा पर्नुभयो, दुई पोखरेलसँगै ओलीको नजिक भएर काम गर्ने अरू नेताहरू अघि लागे । तर पार्टीभित्र केही पछाडि पारिएका पौडेललाई यसपालि मतदाताले पत्याए । माओवादीसँगको सहकार्यमा योगदान गरेका पौडेलको जित र पार्टी विभाजनमा ओलीलाई साथ दिने दुई पोखरेल र अरू नेताहरूको हारले माओवादीबीच सहकार्य हुनुपर्छ भन्ने मत राख्नेहरू एमालेमा बलिया हुँदै गएको सङ्केत गर्दछ । तत्कालै एमाले र माओवादीबीच फेरि एकता हुने सम्भावना त छैन, तर एमालेभित्र ओलीको धेरै विश्वासपात्रहरूलाई यो चुनावले कमजोर पारिदिएको छ । 

प्रतिकूल अवस्थामा सम्मानजनक सिट ल्याउन सफल भएको भन्दै एमालेका एकथरी नेताहरू आत्मसन्तुष्टिमा रमाइरहेका छन् । पार्टी विभाजनको चोट लिएर चुनावमा भाग लिएको तथा सत्ता गठबन्धनसँग धेरै ठाउँमा एक्लै मुकाबिला गर्नुपरेको कारण सोचेजस्तो नतिजा नआए पनि एमालेप्रतिको आकर्षण कायमै रहेको उनीहरूको बुझाइ छ । समानुपातिकतर्फ एमालेले लिइरहेको अग्रताले पनि एकथरी एमाले नेताहरू प्रत्यक्षतर्फको हार बिर्सिएर उत्सव मनाउँदैछन् । तर आफ्नो आलोचना गर्नेलाई देखिनसहने ओलीको पुरानो बानीलाई सुधार्न सकेको भए प्रत्यक्षतर्फको सिट सङ्ख्यामा पनि सुधार हुन सक्ने पक्का थियो । भीम रावललाई टिकट नदिएकै कारण एमालेले सुदूरपश्चिममा धेरै सिट गुमाउनुपर्यो । घनश्याम भुसाललाई नचिढ्याएको भए लुम्बिनीमा एमालेको अवस्था अहिलेको भन्दा राम्रो हुन्थ्यो । प्रभु शाहलाई साथमै राख्न सकेको भए मधेसमा अरू सिट पनि थप्न सक्थ्यो । तर ओलीको जस्तोसुकै निर्णयलाई शिरोधार्य गर्ने धेरै एमाले नेताहरू आफू पराजित भए । 

कांग्रेस र माओवादीको हालत पनि यस्तै हो । नेतृत्वको विश्वासपात्र भएर काम गर्ने ती पार्टीका नेताहरू पनि पराजित भएका छन् । कांग्रेसमा देउवाका विश्वासपात्र बालकृष्ण खाण र माओवादीमा प्रचण्डका विश्वासपात्र देव गुरुङ यसका उदाहरण हुन् । यो चुनावले पुराना नेताहरूले आफूलाई सुधार्न नसकेमा उनीहरूको भविष्य धरापमा छ भन्ने त देखाएकै छ । यसबाहेक एमाले लगायतका ठूला पार्टीभित्रको शक्ति समीकरणमा पनि उथलपुथल ल्याउन सक्ने सङ्केत दिएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया