सुकुम्वासी बस्तीमा तनाव : ‘हतियारसहित प्रदर्शनमा आएकालाई नियन्त्रणमा नलिइ जाँदैनाैँ’

 मंसिर १२, २०७९ सोमबार १८:१६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाण्डाैकाे थापाथलीमा रहेकाे सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिनुभएको छ ।

सुकुम्वासी बस्तीमा अनधिकृतरूपमा बनाइएको टहरा हटाउन पुगेकाे काठमाण्डाै महानगरकाे डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैधरूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उहाँले त्यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरि आफूहरू त्यस क्षेत्रबाट नफर्किने बताउनुभएको हो ।

आज साेमवार दिउँसाेदेखि सुकुम्वासी बस्तीमा स्थानीयले डोजर चलाउन नदिइ ढुङ्गामुडासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित झन्डै १० जना सुरक्षाकर्मी घाइते भएका छन् । आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही हुने बताउनुभयाे । 

सुकुम्वासी बस्तीका स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिइ बस्ती हटाउन खोजेको भन्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

अहिले स्थानीयकाे भिडलाई नियन्त्रणमा लिन काठमाण्डाै महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गएकाे मङ्सिर ४ गतेभित्र अनधिकृतरूपमा बनाइएको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर त्याे निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नुपरेको महानगरले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया