जुनसुकै भूमिका निर्वाह गर्न तयार छौँ : एमाले उपाध्यक्ष नेम्वाङ

 मंसिर १२, २०७९ सोमबार १८:५९:७ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ ।

इलामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइ काठमाण्डौ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले चुनावले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । चुनावले दिएको निष्कर्षले जनताको विजय भएको छ ।’

लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरूप आफ्नो दल अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठिक दिशातर्फ अघि बढ्छ ।’ अहिलेको चुनावले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भन्नुभयो, ‘संविधान र नयाँ जनादेशको सन्देशअनुरूप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया