रवि लामिछानेकाे पार्टीबारे ओलीकाे टिप्पणी : अस्तिसम्म बेलुन स्याप्पै थियाे, हावा नहाली कसरी यत्राे भयाे ?

 मंसिर १३, २०७९ मंगलबार १६:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना गर्नुभएको छ । अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गर्नुभएको हो । उहाँले संयोग नै भए पनि यसले देशको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गर्दै चिन्तासमेत व्यक्त गर्नुभयो । 

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आज मङ्गलवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिडम पार्टीको नाम र झण्डा फोटोकपीको रूपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताउनुभयो । ओलीले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताउनुभयो । 

उहाँले भन्नु भयो, ‘हामीले आफैँलाई बिर्सियाैँ । आफूप्रति गर्व गर्न छाड्यौँ । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो । संयोग नै भन्नुपर्ला अमेरिकामा एउटा फ्रिडम पार्टी छ, त्यसको चुनाव चिह्न पनि घण्टी छ । संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्न खोजेको हुँ ।’

अध्यक्ष ओलीले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकै खेपमा फुलेको बेलुनको रूपमा समेत चित्रण गर्नुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया