रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु

 मंसिर १४, २०७९ बुधबार १९:४२:१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान आज बुधवारदेखि सुरु भएकाे छ । मन्थली नगरपालिकाका १४ वटै वडामा एकसाथ अभियान सुरु गरिएको छ । 

परिचयपत्र बनाउन केन्द्रमा खटिएर आएका कर्मचारीकाे टोलीले १४ वटा वडामा पुगी अभियान एकसाथ सुरु गरेका हुन् । उनीहरूले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका काम सुरु गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिन्थ्यो । 

जिल्लामा अहिलेसम्म २१ हजार पाँच सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने र व्यक्तिगत विवरण फाराम भरेका छन् । विवरण भरेका सबै नागरिकको परिचयपत्र अहिलेसम्म जिल्लामा आइनसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयाे । जिल्लाको आठ वटा पालिकाका ६४ वडामा झन्डै तीन महिनामा विवरण भरिसक्ने लक्ष्य जिल्ला प्रशासन कार्यालय रामेछापले लिएको छ । 

यो अभियान जिल्ला प्रशासन कार्यालयमा पनि चल्ने छ । वडास्तरमा राष्ट्रिय परिचय पत्र बनाउने टोली पुगेसँगै परिचयपत्रका लागि फाराम भर्ने नागरिकको भिड लागेको छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले पालिकाका जनप्रतिनिधिलाई राष्ट्रिय परिचयपत्र बनाउन आएका टोलीलाई सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या झन्डै दुई लाख पुग्न सक्ने अनुमान गरिएकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया