सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

 मंसिर १५, २०७९ बिहिबार ७:५६:५१ | सुजीत झा
unn.prixa.net

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ ।

पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ ।

धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुुभएको छ ।

महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएको छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएको हो ।

महासेठ २०७४ को चुनावमा समेत यही चुनाव क्षेत्रबाट विजयी हुनुभएको थियो । २०७४ सालमा बाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ मत पाउनुुभएको थियो ।

डा.चन्द्रमोहनलाई अनुशासनहीन कार्य गरेकाले तत्कालै कारबाही प्रकृया बढाउने सहमहामन्त्री यादवले चेतावनी दिनुुभएको छ । अहिले समाजिक सञ्जालमा महेन्द्र यादव समर्थक र डा. चन्द्रमोहन यादव समर्थकबीच आरोपप्रत्यारोप लगाउने काम भइरहेको छ । कांग्रेस नेता डा. यादवले महेन्द्रले हारेपछि झुटाे आरोप लगाएको बताउनुुभयो । 

डा. चन्द्रमोहन र महेन्द्र यादवबीच वर्षौँदेखि विवाद रहेको छ । दुवै मिल्दा राम्रो परिणाम आउँछ नमिल्दै दुवै पक्ष हार्ने गरेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाश प्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुुभयो ।

पालिका चुनावमा धनुषा ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका र मिथिला बिहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिकाको बहुसङ्ख्यक वडा पनि जितेको छ । क्षिरेश्वरको नेतृत्व एमालेले जितेको छ भने मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा एमालेले जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला बिहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ गरी पाँच वटा भने पर्दछ । यो क्षेत्रमा पर्ने वडाहरुमा वडाध्यक्ष पदका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार १५९ मत पाउँदा एमालेकाले २४ हजार ३९४ मत पाएका थिए । जसपाले ८ हजार ३८८, एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले एक हजार ९५० मत पाएका थिए ।

कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार रहेका कुमरकान्त झाले स्थानीय चुनावमा पाएको मत र गठबन्धनमा रहेको दलहरुको साथ नै आफूहरुको जितको आधार भएको तर आफ्नै पार्टीका केही नेताका कारण हुन नसकेको बताउनुुभयो । कांग्रेसले पाँचमध्ये ४ वटा पालिका जितेको छ । ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष हाम्रो छ, सत्ता गठबन्धनको मत जोड्दा एमालेभन्दा करिब दोब्बर थियो । 

अन्तिम अपडेट: चैत ८, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया