‘एमालेकाे नेतृत्वमा सरकार बन्नुपर्छ, शेरबहादुर नै प्रधानमन्त्री भनेर दुष्प्रचार भइराखेकाे छ’

एमाले सङ्घ र ७ वटै प्रदेशमा सरकार बनाउने हैसियतमा छ : गुरुङ

 मंसिर १६, २०७९ शुक्रबार १६:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो । 

लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, देशको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो । 

उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अब शेरबहादुर नै प्रधानमन्त्री भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने देशमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको स्थितिलाई हामीले अन्त्य गर्न सक्दैनौँ । नेकपा एमालेको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । अबको पावर शेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’

उपमहासचिव गुरुङले सङ्घ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गर्नुभयो । तर त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । उहाँले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया