पुराना र पाका नेताले विश्राम लिनुपर्छ : चन्द्र भण्डारी

 मंसिर १६, २०७९ शुक्रबार १७:३१:२५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाली कांग्रेसका नेता एवम् गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. चन्द्र भण्डारीले अहिलेको पार्टीका नेताहरूबाट देशको वर्तमान चुनौतीहरूको समाधान हुन नसक्ने बताउनुभएको छ । पुराना र पाका नेताहरूले अब विश्राम लिएर देशलाई अघि बढाउन मद्दत गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।  

आज शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा रहेकाे वीपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै अबको नेतृत्व युवाको काँधमा आएको बताउनुभयो । उहाँले चुनावकाे बेलामा नेतृत्वको विरोध गर्दा झन् आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफू केही नबोलेको बताउनुभयो । ‘अब चुनाव सकियो, काठमाण्डौ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वको विषयमा बोल्ने छु’, उहाँले भन्नुभयो ।  

अहिले चुनावकाे परिणामलाई लिएर भिन्न–भिन्न आँकलन र अडकलबाजी चलिरहेको भन्दै नेता भण्डारीले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने दाबी गर्नुभयाे । पहिलो काम गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

भण्डारीले चुनाव जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै देशलाई केही परिवर्तनकारी काम गर्नका निम्ती मन्त्री बन्ने सोच बनाउनुपर्ने बताउनुभयो । उहाँले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताउनुभयो ।  

उहाँले गुल्मी जिल्लालाई विकास, निर्माणको हिसाबले नमुना जिल्ला बनाउने गरि आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले गुल्मीमा विकास, निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गर्नुभयो । रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उहाँले विकास, निर्माणको काममा तीव्रता दिन उहाँहरूलाई निर्देशन पनि दिनुभएको थियो । 

कार्यक्रममा गुल्मी क्षेत्र नं १ काे प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने जनाउनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया