अहिलेसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग

 मंसिर १६, २०७९ शुक्रबार १८:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । 

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत 'थ्रेसहोल्ड' कटाएको जानकारी गराउनुभएको हो । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना भइसकेको छ । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चलिरहेकाले रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताउनुभयाे । 

आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अनुमान गरेको छ । दलहरूले पाएको मत सङ्ख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम सङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाइ महिलाको सङ्ख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया