बुटवलबाट राजधानी नसार्न कांग्रेस र एमालेको आग्रह

 मंसिर १८, २०७९ आइतबार १८:४६:४७ | रासस
unn.prixa.net

रुपन्देही – संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले रुपन्देहीले आज आइतवार छुट्टाछुट्टै विज्ञप्ति निकालेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । 

पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूले जनाएका छन् ।

नेपाली कांग्रेसले राजधानी लैजाने जिम्मा संरचना निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ । यसैगरी एमाले जिल्ला कमिटी रुपन्देहीले पनि विज्ञप्तिमार्फत अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालय, संसद् भवन र कर्मचारीको आवास व्यवस्थित रहेका अवस्थामा कुनै संरचना नै नभएको स्थानमा जबरजस्ती राजधानी लैजान खोज्नु गलत कदम भएको ठहर गरेको छ ।

कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन् । स्थायी राजधानी देउखुरीमा पर्याप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीले सामूहिकरूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश सभाबाट दाङको देउखुरी उपत्यका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको राप्ती किनारमा लैजाने निर्णय भए पनि अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा काम गर्न नसकिने कर्मचारीको भनाइ छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया