समानुपातिकतर्फको गणना अन्तिम चरणमा, पाँच वर्षअघिको तुलनामा मुख्य तीन दलको मत घट्यो

 मंसिर १९, २०७९ सोमबार ६:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक ठूला तीन दल सबैको मत घटेको हो । अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मत गणना भएको छ ।

समानुपातिकतर्फ अब थोरै मत मात्रै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो । यस्तै नेपाली कांग्रेसले पाँच वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २६ लाख ६० हजार मत ल्याएको छ ।

माओवादीले केन्द्रले यसपालि ११ लाख ६२ हजार मत ल्याएको छ । पाँच वर्षअघि माओवादीले समानुपातिकतर्फ १४ लाख २२ हजार मत ल्याएको थियो । ठूला पार्टीको मत घट्दा नयाँ पार्टीले उल्लेख्य मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार, राप्रपाको ५ लाख ८६ हजार, जसपाको ४ लाख २० हजार र जनमत पार्टीको ३ लाख ९४ हजार मत आएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले २ लाख ९४ हजार र नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याएका छन् । अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

समानुपातिकमा दलहरुले पाएको मत सङ्ख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् ।

त्यसो गर्दा एक तिहाइ महिलाहरुको सङ्ख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको छ । ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया