माटोको ढिस्कोले पुरिएर म्याग्दीमा निर्माण व्यवसायीको ज्यान गयो

 मंसिर २१, २०७९ बुधबार १६:३०:४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ८ बेनीमा आज (बुधवार) माटोको ढिस्को खसेर पुरिँदा एक जना निर्माण व्यवसायीको ज्यान गएको छ । 

म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणस्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका ६ घारका कृष्ण बरुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दी क्याम्पसको भवन निर्माणका लागि खनिएको जगको नाप/जाँच गर्न पुगेका निर्माण व्यवसायी बरुवालको जगभन्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयाे ।  

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार माटोको ढिस्कोले पुरिएका बरुवालको डाेजरकाे सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरी बेनी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । निर्माण व्यवसायी बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया