नेपाल नामिबियासँग ८६ रनले पराजित

 मंसिर २१, २०७९ बुधबार २१:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

खेलपछि प्रतिक्रिया दिँदै नेपालका कप्तान रोहित पौडेल। तस्बिर : क्यान

काठमाण्डौ - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज बुधवार भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भयो । 

नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा एक सय ८९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र अर्जुन साउदले २९ रन बनाए । नामिबियाका लागि टाङ्गेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ७५ रन बनाएको थियोे । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चाैका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए । यस्तै साेमपाल कामीले दुई विकेट लिए । 

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्डको सहभागिता रहेको छ । यो जितसँगै नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । नेपाल २३ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । यस शृङ्खलामा नेपालले आफ्नो अन्तिम खेल भोलि बिहीवार स्कटल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया