किम्फ आजदेखि, पहिलो दिन आज ‘बाघको बङ्गारा’ को प्रिमियर

 मंसिर २२, २०७९ बिहिबार ७:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा आजदेखि काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुँदैछ । किम्फको यो २०औँ संस्करण हो । यो वर्ष किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएशनले जनाएको छ । फेस्टिभल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्नेछ ।

फेस्टिभलमा बलिउड निर्देशक प्रकाश झा मुख्य वक्ताको रुपमा सहभागी हुनुहुनेछ । किम्फमा झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ को विशेष प्रदर्शन हुँदैछ । यसवर्षको संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ ।

कोरोना महामारीका कारण दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको फेस्टिभलमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन् । फेस्टिभलको पहिलो दिन आज मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुने भएको छ ।

टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’ की सञ्चालिका विद्या चापागाईँ निर्माता र कमलकुमार निर्देशक रहेको यो फिल्ममा उत्तरी जाजरकोटका बासिन्दाले अप्ठ्यारो भिरमा चढेर गर्ने मह सिकारीको कथा समेटिएको छ ।

‘हेर्ने कथा’ कार्यक्रम तयार पार्ने क्रममा यो फिल्म बनाइएको निर्मात्री चापागाईँले बताउनुभयो । निकै मेहनत र कठिनाइपूर्वक फिल्मको दृश्य खिचिएको निर्देशक कमलकुमारको भनाइ छ । आजदेखि सुरु हुने किम्फ २६ गतेसम्म चल्नेछ ।

समापनमा पोलियो उन्मूलनका लागि अपाङ्गता भएका अस्ट्रेलियन नागरिकले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ प्रदर्शन हुनेछ । साथै अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीन वटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई एक लाख र पचहत्तर हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया