समानुपातिकबाट सांसद बन्न उम्मेदवारको दाैडधुप, नेतृत्व दबाबमा

 मंसिर २३, २०७९ शुक्रबार ८:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ ।

आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ । दलहरुले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउने छैनन् । तर, संख्या कम हुनाले कुन समूह क्लस्टर भन्ने विकल्प भने छ । कुनै समूहबाट पुरुषलाई छान्दा त्यही समूहबाट महिला बाहिरिन र अर्को समूहबाट पुरुष बाहिरिन सक्छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दलहरुले भोलिसम्ममा समानुपातिकतर्फको नाम पठाइसक्नु पर्नेछ । दलहरुले यसअघि नै निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।

निर्वाचन आयोगले बुधवार दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार भोलि दिउँसो ४ बजेसम्ममा दलहरुलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको छ ।

समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा ७ र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।

समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा दलहरुले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ ।

आयोगले महिला, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू र दलितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार छनोट गर्न आग्रह गरेको छ । साथै अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट पनि प्रतिनिधित्व गराउनुपर्नेछ ।

सहप्रवक्ता अर्यालका अनुसार दलहरुले बुझाएको सूचीमा क्लस्टर नमिलेमा थप दुई दिनको समय दिएर सच्याउन पुनः पत्राचार गरिनेछ ।

समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५/५ सिट पाएका छन् । 

समानुपातिकतर्फको उम्मेदवारको सूची तयार गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ ।

उम्मेदवारको सूची बुझाउन आज र भोलिको समयसीमा रहेकाले दलहरु छलफलमा जुटेका छन् । समानुपातिकबाट सांसद बन्ने आकांक्षी धेरै हुँदा दलको शीर्ष नेतृत्व दबाबमा परेको छ ।

संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरुले त्यसैअनुसार महिला छान्नुपर्नेछ ।

समानुपातिकतर्फको नाम टुङगो लगाउन एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । त्यस्तै कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया