नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार, पूर्ण स्तनपान गराउनेको सङ्ख्या भने घट्यो

 मंसिर २३, २०७९ शुक्रबार १९:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखिएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दरमा उल्लेखनीय कमी भएको देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज शुक्रवार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ जनामा स्थिर रहेको उल्लेख छ । यसअघि सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको प्रति एक हजार जीवित जन्ममा एक सय १८ को ज्यान जाने गरेको थियो ।

अहिले नेपालका महिलाले औसतमा दुई दशमलव एक सन्तान जन्माउँछन् । सन् १९९६ मा प्रति महिला चार दशमलव छ बच्चा जन्मिन्थे । सर्वेक्षणअघिको दुई वर्षभित्रको समय अवधिमा जीवित जन्मेकामध्ये एक हजारमा सात सय ९५ बच्चाहरू स्वास्थ्य संस्थामा जन्मेका छन् । सन् १९९६ मा एक हजारमध्ये ८५ बच्चाहरू मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए ।

यस्तै नियमित खोप लगाउनेको सङ्ख्या पनि उल्लेख्य बढेको छ । अहिले एक हजार बालबाललिकामध्ये आठ सय पाँच जनाले पूर्ण खोप लगाउने गरेको पाइएको छ ।

तर पूर्ण स्तनपान गराउने प्रवृत्ति भने घटेको छ । बितेको २५ वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले यो तथ्याङ्क चिन्ताजनक भएको बताउनुभयो । विशेषगरी सहरी क्षेत्रमा आमाको दूधको विकल्प र फर्मोलाको प्रयोग बढ्नु दुःखद भएको उहाँले बताउनुभयो । कतिपय अवस्थामा गैरकानुनीरूपमा डाक्टरहरूले फर्मोला सिफारिस गरेको देखिन्छ ।

तस्बिर : यूएसएड नेपालकाे भिडियाेबाट

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया