पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा

 मंसिर २३, २०७९ शनिबार ५:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल मैदानमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घिअसले गोल गर्न सकेनन् ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिर गयो । खेलको पहिलो हाफको ३५औँ र दोस्रो हाफको ७३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो । नेदरल्यान्ड्सले दोस्रो हाफको ८३औँ मिनेटमा र इन्ज्युरी समयको दशौँ मिनेटमा गोल गरी बराबरी गरेको थियो ।

अर्जेन्टिनाका मोलिना र कप्तान लियाेनल मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । नेदरल्यान्ड्सका वुट वेघोर्स्ट दुई गोल गरे । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले गएराति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पाँच पटकको विश्व कप विजेता टोली ब्राजिल पराजित भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया