किम्फमा आज ‘जुन्को’ प्रदर्शन हुँदै

 मंसिर २४, २०७९ शनिबार ६:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको नेपाली लघु चलचित्र ‘जुन्को’ प्रदर्शन हुँदैछ ।

मिन्सो लिम्बुको लेखन र निर्देशन रहेको १४ मिनेट लामो यस चलचित्रले कामका लागि भारततिर लागेका पतिको पर्खाइमा रहेका श्रीमती र छोरीको कथा समेटेको छ ।

अघिल्लो वर्ष ग्रीसको ड्रामा अन्तर्राष्ट्रिय लघु फिल्म महोत्सवबाट यात्रा सुरु गरेको ‘जुन्को’ इटलीको प्रतिष्ठित टोरिनो चलचित्र महोत्सव, स्विट्जरल्यान्डकाे फ्रिबौर्ग फिल्म महोत्सव, एस्टोनियाको ब्ल्याक नाइट्स, अमेरिकाको वासिङ्गटन डीसी फिल्म महोत्सवलगायत १९ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ ।

राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलिरहेको किम्फमा आज सेनाको चेली, विलय, राइज, बाघको बङ्गारा लगायतका चलचित्र पनि प्रदर्शन हुँदैछ । अस्ति बिहीवार ‘बाघको बङ्गरा’को प्रिमियरसँगै किम्फ सुरु भएको हो।

हिजो दोस्रो दिन १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । पर्सिसम्म चल्ने किम्फमा ३० देशका ६० फिल्म प्रदर्शन गर्ने तालिका छ । हिमाल एसोसिएशनको आयोजना र काठमाण्डौ महानगरपालिकाको सहआयोजनामा किम्फ भइरहेको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया