‘अनि मैले विज्ञान र 'आईटी' नपढेर मानविकी संकाय रोजेँ’

 मंसिर २५, २०७९ आइतबार १६:५१:४७ | जेनिश बाडे
unn.prixa.net

आफ्नो सन्तानको भविष्यप्रति कुन अभिभावककाे चासाे नहाेला ? आफ्ना छोराछोरीको उज्ज्वल भविष्यप्रति कुन अभिभावक गम्भीर नहोलान् ?

म २०७७ सालको एसईई पास आउट । सिधै भन्नुपर्दा कोरोना ब्याच । विश्व कोरोना भाइरसले बिरामी थियो । त्यसकारण हामीले भौतिक उपस्थितिको सट्टा अनलाइनबाटै एसईई दिएका थियौं । नतिजा पनि राम्रै आयो । ३.५५ को साथ प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेँ । आमाबुबाको अनुहारमा खुशी छायो । छिमेकी र आफन्तजन सबैले बधाईका साथ एउटै प्रश्न सोध्न थाले, ‘अब के पढ्छौ ?’

सम्पूर्णलाई म लजाउँदै ‘के हुन्छ, अब हेरौँ’ भनेर कुरा टुङ्ग्याउँथें ।’

एकदिन आमाले पनि त्यही प्रश्न सोध्नुभयो, ‘अब के पढ्छौ बाबु ?’

मैले आफूले मानविकी पढ्न चाहेको कुरा आमालाई सुनाएँ । आमाले मानविकी किन पढ्ने भनेर सोध्नुभयो । सायद ३.५५ जीपीए ल्याएको देखेर आमाले यस्तो सोध्नुभएको थियो होला । किनकी यति अंक ल्याउने मेरा अरु साथीहरु कोही विज्ञान, आईटी त कोही व्यवस्थापन संकाय पढ्ने तयारीमा थिए । आमाको अपेक्षा पनि मैले विज्ञान वा आईटी पढोस् भन्ने नै थियो ।

मैले उत्तर दिएँ, ‘मलाई त्यसमा इच्छा छैन, राम्ररी आउँदैन ।’

एकछिनपछि आमाले भन्नुभयो, ‘नपढ बाबु मानविकी बरु दाइले जस्तो छिटो र धेरै पैसा कमाउने बाटो खोज ।’ 

आमाको यो कुरा सुन्दा मानविकी पढेर देशको सेवा गर्न र आफ्नो देशमा केही गरी बसौँ भनी सपना बोकेको मेरो दिमाग डगमगियो । 

एकचोटी आफैंले आफैलाई सोधेँ, ‘के गर्छस् त ? पढछस् त आईटी ?’

मन र मस्तिष्कबीच द्वन्द्व चल्यो । मनलाई मेरो खुशी र सन्तुष्टि चाहिएको थियो भने मस्तिष्कलाई भविष्यको चिन्ता थियो । मस्तिष्कले भविष्यमा आइपर्ने परिस्थितिलाई प्राथमिकता दिएको थियो ।

आमाको त्यही कुराले मेरो मन र मस्तिष्कको दृष्टिलाई भताभुङ्ग पारिदियो । यस्तै खाले विभिन्न प्रश्नप्रति अनेक विचार मनमा उब्जन थाले ।

राम्रो श्रेणीमा एसईई उत्तीर्ण भएसँगै समाज परिवर्तन र नयाँ समाजको विकासको बाटोमा यो मन हिँडिसकेको थियो । यस्तै, नाम प्रतिष्ठा र इज्जतको दौडमा भने मस्तिष्क दौडिरहेको थियो । करिब एक महिनापछि परिवारका सब्बै सदस्यहरु भेला भएका थियौं । जुन प्रश्नको उत्तर दिँदादिँदै म थाकिसकेको थिएँ, त्यो दिन मेरो दाइले पनि त्यही प्रश्न सोध्नुभयो ।

‘अँ भन्, अब के पढ्छ्स् ?’ 

मैले फिस्स हाँस्दै भनेँ, ‘दाइ म मानविकी पढ्छु, पत्रकारिता लिएर ।’

दाइले भन्नुभयो, ‘यो पनि माइक र क्यामेरा समात्दै हिँड्ने झोले हुनेभयो ।’

तर जे हाेस् मेराे परिवारले मेराे इच्छाअनुसार पढ्न सहमती जनायाे । म मानविकी पढ्ने भएँ ।

अनेक अवसरका तालहरुमा डुबुल्की मारेको यो मेरो मनले अहिले मानविकी संकाएमा पत्रकारिता विषयको माछा जालमा पारेको छ । म पनि यसैमा रमाएकाे छु ।

मेराे चाहनामा अहिले मेराे परिवारले पनि साथ दिएकाे छ । पहिले दाइले जस्तै पैसा कमाउने विषय आईटी पढ भन्नुहुन्थ्याे आमाले । अहिले त आमा पनि खुसी हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, 'पैसाकाे चिन्ता नगर । राम्ररी पढ है बाबु ।'

अन्तिम अपडेट: बैशाख ४, २०८१

जेनिश बाडे

जेनिश कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

3 Comments

  • Manisha lamichhane

    Jan. 21, 2023, 8:20 p.m.

    I love his explanations and his aim . Great future ahead. This is a reality story of everyhouse . You are a great example of doing what you want to do .

  •  0 Reply
  • Rakshya Bhandari

    Dec. 27, 2022, 1:33 p.m.

    Good one bhai

  •  0 Reply
  • Harish Hona

    Dec. 11, 2022, 6:19 p.m.

    Written good my friend. Wishes for your bright future!

  •  0 Reply

तपाईको प्रतिक्रिया