छोराहरु वैदेशिक रोजगारीमा हुँदा बाेर्डले दिएको स्वास्थ्य उपचार खर्चले राहत

 मंसिर २६, २०७९ सोमबार १७:४९:३१
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ दिक्तेलकी तीलमाया आचार्य एक वर्षदेखि ब्लड क्यान्सरले पीडित हुनुहुन्छ । उहाँलाई १५ पटक किमो दिइएको छ । अहिले पनि उहाँ भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

तीन छोरामध्ये उहाँका दुई छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा आमा बिरामी भएपछि छोराहरु कसरी खुसी हुन सक्छन् र ? 

छोराहरु केही कमाउने सपना बोकेर परदेश गएका छन् । यता आफ्नो उपचारमा यत्रो पैसा सकिँदा ६० वर्षीया तीलमायालाई पनि क्यान्सरले  भन्दा बढी पीडा हुन्छ । 

उहाँलाई अब खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता लागिरहेको थियो । यहीबेला श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक राेजगार बाेर्डबाट पचास हजार रुपैयाँ सहयोग पाउनुभयो । रकम थोरै भए पनि यो पैसाले उहाँलाई केही राहत मिल्यो ।

बाेर्डले वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई स्वास्थ्य उपचारको लागि भनेर आर्थिक सहयोग गर्छ ।

अहिले शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ दिन्छ । कामदारका परिवारले पाउने स्वास्थ्यको उपचार सम्बन्धी मापदण्ड २०७३ मा यसको व्यवस्था गरिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको श्रमिकको परिवारले यो सुविधा पाउँछन् ।

यति धेरै खर्च भइसकेको अवस्थामा ५० हजार रुपैयाँ भए पनि आफूलाई राहत भएको उहाँका अन्तरे छोरा मीन प्रसाद आचार्य बताउनुहुन्छ । 

‘रकम थोरै भए पनि सरकारबाट सहयोग पाउँदा केही राहत भएको छ’, उहाँ भन्नुहुन्छ ।

कतिपय श्रमिकका परिवार यस सेवाबारे जानकारी नहुँदा पाउनुपर्ने उपचार खर्चबाट वञ्चित हुन्छन् । तर आप्रवासी स्रोत केन्द्रले यस्तो अवस्थामा पीडित श्रमिक तथा उनीहरुका परिवारलाई सहयोग गर्छ । तीलमायाले पनि स्रोत केन्द्रको सहयोग र पालिकाको सिफारिसमा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोग पाउनुभएको हो ।

यो सहयोगको लागि वैदेशिक रोजगार बोर्डको कार्यालय काठमाण्डौमै पुग्नुपर्दैन । आफ्नो पालिकामा गएर आवश्यक प्रक्रिया सहित निवेदन दिएपछि पाउनुपर्ने सहायता रकम सम्बन्धित व्यक्तिको बैंक खातामा आउँछ ।

लिला निराैला/खाेटाङ

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया