रामेछापमा जीप दुर्घटना हुँदा ९ जना घाइते, ३ को अवस्था गम्भीर

 पुस २, २०७९ शनिबार १८:६:२९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँवाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको जीप भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । कच्ची सडकको मोडबाट जीप अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ ।

गाडीमा यात्रा गर्ने सबै जना घाइते भएका छन् । घाइतेमध्ये लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँका वडा सदस्य बिमल सुनुवार, त्यही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पठाइएको छ । उनीहरु तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता राजुप्रसाद ढकालले बताउनुभयाे । 

त्यसैगरी गाडी दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँकै वर्ष २३ की श्रृष्टी सुनुवार, वर्ष ३० की सीता कार्की, वर्ष ३० की मनिता खड्का र वर्ष ४० का दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरि थप उपचारको लागि सदरमुकाम मन्थली लगेकाे प्रहरीले जनाएको छ । 

घाइतेमध्ये वर्ष १६ का नरेश खड्का र वर्ष १९ का सुजन भुजेलको अवस्था सामान्य भएकाले उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया