फरक भूमिका रुचाउने विपीन

 पुस ५, २०७९ मंगलबार २०:१९:९ | रासस
unn.prixa.net

काठमाण्डौ – अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । 'लुट', 'छड्के', 'पशुपतिप्रसाद', 'नाका', 'हरि' लगायतमा निर्वाह गरेको चरित्रले उनको पहिचान स्थापित गर्‍यो । फिल्म 'जात्रा' पछि मात्र दर्शकले चिन्न थालेता पनि 'जात्रैजात्रा', 'प्रसाद', 'सेल्फी किङ' मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् ।

उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन् । 'जात्रा' सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले 'के घर के डेरा' मा पिता बन्ने प्रस्ताव स्वीकार गरे । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमानकै भूमिकमा ल्याए । त्यो भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन् । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । ‘म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरूपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।’ उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ ।

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहनतले मजस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने । अभिनेता राई र कार्कीले 'लुट' सिरिज, 'जात्रैजात्रा' र 'के घर के डेरा' मा सँगै काम गरेका छन् । यी दुई अभिनित पछिल्लो फिल्म 'फूलबारी' आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया