नेपाल लिटरेचर फेस्टिभलको एक दशक, साङ्गीतिक वातावरणबीच दशौँ संस्करण सुरु

 पुस ७, २०७९ बिहिबार १९:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखरामा सुरु भएको छ । झन्डै दुई सय वक्ता र हजारौँ सहभागीको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन उद्घाटन सत्रमा काठमाण्डाै विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिनुभयाे । 

डा. वाग्लेले 'नेपाल २०९०' शीर्षकमा दिएको मन्तव्यमा नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनुपर्ने बाटाेबारे चर्चा गर्नुभएकाे थियाे । सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी भएको उहाँकाे भनाइ थियो । देश अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुने उहाँले बताउनुभयाे । 

‘अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र देश जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला । यो अवधिमा त देशको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ’, उहाँले भन्नुभयाे । 

तर हामीले अपेक्षा गरेका सबै पक्षमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भने पनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित देशहरूको हाराहारीमा पनि उभ्याउन नसक्ने उहाँको मत थियो ।

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको उहाँले बताउनुभयाे । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेस्टिभलको उद्घाटन गर्दै याे पोखराको गौरवको विषय भएको बताउनुभयाे । ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ । यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीले यसलाई सम्बोधन गर्नुपर्छ’, उहाँले भन्नुभयाे । 

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गर्नुभयाे । गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेशनसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयाे । 

पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग 'घरबाट स्कुलसम्म' शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गर्नुभयाे । छलफलमा बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे अन्तर्क्रिया भएकाे थियाे । एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाइ छ । उहाँले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताउनुभयाे । 

‘सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ । सिकाइको खाडल त्यहीँबाट सुरु भएको देखिन्छ’ डा. दाहालले भन्नुभयाे, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’

कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुतिसमेत भयो । साथै कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गर्नुभयाे । त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायतले याेञ्जनका गीत गाए । फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह 'गोपालय' समेत लोकार्पण भएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया