माननीयलाई शपथको स्वाद !

 पुस १०, २०७९ आइतबार १३:५८:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

नमस्कार र बधाई त टन्नै खाएको हो, तर सपथ नखाएसम्म आँत नै नभरिएजस्तो । कहिले शपथ खान बोलाउँछन् भनेर पर्खिँदा पर्खिँदा बल्ल तल्ल निम्तो आयो । शपथकै दिन लगाउन भनेर उहिल्यैदेखि साँचेर राखेको नयाँ लुगा । माननीयज्यू नयाँ लुगाको फेर तान्दै बानेश्वरको बाटो लागे ।

संसद् भवनमा थरीथरीका माननीय । कोही आफूजस्तै पहिलो पटक शपथ चाख्न आएका, कोही चाहिँ पहिले पनि टन्नै खाएर फेरि नयाँ थप्न आएका । सबैका नयाँ–नयाँ हुलिया । एकछिन अरूले लगाएको हेरेपछि र अरूलाई पनि आफूले लगाएको देखाएपछि शपथ खाने पालो आयो । 

तर शपथ कस्तो हुन्छ भन्ने पत्तो नपाउँदै शपथ खुवाउने कार्यक्रम त सकिइ पो गयो । भित्र हलमा कागजको पाना पढ्न लगाए । बाहिर निस्केपछि चिया, सुन्तला खान दिए । शपथ चाहिँ खै त ? पहिलो पटक सांसद भएर मुख मिठ्याउँदै संसद् छिरेका माननीयलाई खुलदुली र छटपटी भयो । पहिले पहिले पनि शपथ खाएर टन्न भएका भुँडीवाल सांसदसँग खासखुस गरे, खै त शपथ ?

ल अघि त्यहाँ खानुभएन ?

कहाँ खानु, सुन्तला र चियामात्रै दिए ।

त्योभन्दा पहिले क्या, हलभित्र ?

खै केही पनि खान दिएनन् त हलमा त । कागज दिए, अनि कागजमा लेखेको पढाए । बस्, त्यत्ति हो, न खाना न पिना ।

पछिल्तिरका एक जना माननीय खल्तीबाट सुर्ती झिकेर माड्दै थिए । त्यो पनि उनीसँगै रहेका अर्का माननीयलाई दिए । शपथ न अरूले खाएको देखियो, न त आफूले खाएको नै चाल पाइयो ।

अनि त्यो सबैले एकै स्वरमा जनता र ईश्वरको नाममा खाएको चाहिँ के हो त ?

त्यही कागजको पाना पढेको कि ?

अँ त, त्यही त हो नि शपथ खाएको ।

हरे म त शपथ भनेको के के न मिठो परिकार होला भन्ने ठानेको । जाबो त्यही हामीले स्कुल पढ्दा खाने किरियाजस्तै त रैछ नि । साथीको डटपेन हराएपछि कसले चोर्यो भनेर किरिया खान लगाउँथे । विद्यानष्ट मैले चोरेको होइन भनेर किरिया खाइन्थ्यो, तर साथीको हराएको डटेपन चाहिँ आफ्नै कट्टुको खल्तीभित्र हुन्थ्यो । चोर्दिनँ, ढाँट्दिनँ भनेर किरिया खाइयो, तर स्कुलबाट फर्किँदा बाटो छेउछाउका सुन्तला, अम्बा चोरेर त कति खाइयो खाइयो । 

सानैदेखि किरिया खाने तर किरिया खाएकोभन्दा उल्टो गर्ने बानी भएर त हामी यहाँ आइपुग्यौँ नि । बुझ्नु, सुझ्नु छैन ।

बल्ल त बुझ्दैछु । तर यो शपथ पढेको कुरालाई पनि किन खाएको भनेको होला ? खाएपछि त मुख आँ गरेको हुनुपर्यो, स्वाद पनि पाउनुपर्यो ।

ल अनि त्यो कागज पढ्दा मुख आँ भएन र ? स्वादिलो पनि भयो होला ।

खै, मैले त केही स्वाद नै पाइनँ । खाएकोजस्तो पनि भएन ।

मुख आँ त भयो होला नि पढ्दा ?

अँ पढ्दा त अलिअलि मुख आँ भइहाल्यो नि ।

हो अब खाने बाटो खुल्यो । शपथ पढ्दा मुख आँ पनि भयो । अलिअलि थुक पनि निलियो । थुककै भए पनि स्वाद पनि मिल्यो । यसको मतलब अब जता फर्के पनि खाने बाटो खुल्यो । थरीथरीका स्वाद चाख्न पाइने भयो ।

कसरी ?

सबैभन्दा पहिले त शपथ खाएकै दिनदेखि तलबभत्ता पाक्यो । अब संसद् बैठक नबसे पनि, बैठक बसेको दिन कुर्सीमै निदाए पनि महिना पुग्नासाथ तलबभत्ता खान पाइयो । साथीभाइ, आफन्तबाट नमस्कार त पहिल्यै खाइसकियो, अब दलाल र ठेकेदारबाटसमेत नमस्कार खान पाइन्छ । उनीहरूले भनेजस्तो यताउता मिलाउन जानियो भने कमिसन टन्नै चाख्न पाइन्छ । 

हो त । बालुवा, गिट्टी, इन्धन पनि त खान पाइन्छ क्यारे । बिस्तारै खानेबानी लाग्न थालेपछि उद्योग, कलकारखाना, बाटाघाटा, पुलपुलेसा पनि खान पाइन्छ भन्ने सुनेको हो । 

शपथ खानुअघि सुनेको चाख्न पाइने सबै कुराको स्वाद अब आफ्नै जिब्रोले थाहा पाउँछ । अगाडि हेर्नु त कतिथोक छ खानेकुरा । पहिले प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख खाने मेलो सुरु भयो । प्रधानमन्त्री र राष्ट्रपति खान हामीभन्दा ठूला खालका माननीयहरू घुटुक्क थुक निल्दै, र्याल चुहाउँदै ढुकिरहेका छन् । जसरी पनि नखाइ छोड्दिनँ भनेर पाखुरा सुर्कँदैछन् । यताबाट नपाए उताबाट, उताबाट नपाए यताबाट भए पनि खान भनेर मरिहत्ते गर्दैछन् । उनको खाने पालो पुगेपछि तपाईं, हाम्रो पनि मन्त्री खाने पालो आउला । त्यसपछि उता प्रदेशमा साथीभाइलाई पनि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीको भाग मिल्ला ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख त सबैलाई पुग्दैन नि । मेरै भाग पनि नआउला । अनि हामी चाहिँ के खाने नि ?

हरे अघि त्यत्रो भनेको होइन त मन्त्री, प्रधानमन्त्री नभए पनि कमिसन त जसले पनि खान पाउँछ नि । सांसदको फुली लगाएको देखेपछि दिनेले आफैँ खल्तीमा हालिदिन्छन् । कसैकसैलै घरमै ल्याइदिन्छन् । तलबभत्ता, गाडी, इन्धन त मामुली कुरो भयो खानलाई । शपथ खाएपछि खान पाइने अरू ठूला कुरा त कति छन् कति । मात्र खान जान्नुपर्छ । खानु पनि पर्छ, खाएको छैन, खानै जान्दिनँ भनेर शपथ पनि खानुपर्छ ।

भनेपछि ईश्वर र जनताको नाम लिँदै यो यो गर्दिनँ भनेर शपथ पनि खानुपर्यो, अनि आफ्नो र परिवारको नाम सम्झँदै गर्दिनँ र खाँदिन भनेको कुरातिर फर्केर मुख आँ पनि गर्नुपर्योे । बल्ल पो शपथको स्वाद आयो !

अन्तिम अपडेट: बैशाख ८, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया