ओली, प्रचण्ड र रवि सम्झिएर बिउँझिँदा पासपोर्टको लाइनमा !

 पुस १७, २०७९ आइतबार १३:३४:२६ | मिलन तिमिल्सिना
unn.prixa.net

बालकोटको बार्दलीबाट प्रचण्डले हात हल्लाएको पर्सिपल्टै खुमलटार पुगेर ओलीले सुन्तला छोडाए । सत्तोसराप गरेर नथाक्ने दुवैले एक–अर्काको जीउमा सुनपानी छर्किए र अँगालो मारे । प्रधानमन्त्रीको शपथ खान जाँदा प्रचण्डले दौरा–सुरुवाल लगाए । ज्योतिषीलाई साइत हेर्न लगाएर पूजापाठ गर्दै बालुवाटार सरे । नाकको डाँडी भाँच्छु भन्दै टेलिभिजनमा कुर्लने रवि नाक ठाडो पार्दै सिंहदरबार छिरे । हिउँदे घाम मधुरो हुँदै गए पनि नागरिकको दिमाग एकाएक तात्यो । देशमा एकाएक रमाइलो र रोइलो सुरु भयो । एक किसिमले देशमा दुई तीन दिन उथलपुथल भयो । 

सत्ता र शक्तिको चाबी फेरि ओलीको हातमा फर्कियो । ओली फर्किएपछि रोकिएर बसेका पानीजहाज र रेल चल्न थाले । चीनबाट केरुङ हुँदै हुइँकिएर आएको अक्सिजनयुक्त उत्तरी रेल । भारतको रक्सौल हुँदै दक्षिणबाट आएको बिजुली रेल । उत्तर र दक्षिणबाट छुटेका अत्याधुनिक रेलको काठमाण्डौमा मेल । पूर्व पश्चिम रेल, उत्तर दक्षिण रेल । सडकमुनि सुरुङ भित्र पस्दै फुत्त बाहिर निस्कने छुकछुके रेल । सडकमाथि आकास छुँदै झुण्डिने स्काइ रेल । सिमेण्टका पिलरमा हिँड्ने मोनोरेल । फलामका पातामा चराझै माथि तल गर्ने मेट्रोरेल । यता पनि रेल, उता पनि रेल ।

जमिनमाथि रेलको लस्कर लाग्न थालेको मात्रै के थियो, नदी खोलामा पानीजहाज देखिन थाले । गण्डकी, कोशी, नारायणी, कर्णालीमा ठूल्ठूला पानीजहाज । बाग्मती र विष्णुमतिमा ससाना पानीजहाज । जमिनमा रेल, नदीमा पानीजहाज, आकाशमा हवाईजहाज । माइक्रोबसमा कोचाकोच खाँदिएर यात्रा गर्ने दिन सकिए । कलंकीबाट रत्नपार्क जान बल्खुखोला हुँदै विष्णुमती र बाग्मतीबाट चल्ने पानीजहाज चढ्ने कि सडकको माथिमाथि गुड्ने मेट्रो रेल ! 

ओलीको रेल र पानीजहाज कुन पहिले चढ्ने भनेर अलमल भैरहँदा प्रचण्डले साकार पारिदिए सुखी नेपाली र समृद्ध नेपालको सपना । पहिलोपटक दौरा सुरुवाल लगाएका फूर्तिला प्रधानमन्त्री । आफूले सोचेको कुरा पुर्याउन जे पनि गर्न सक्ने आँट । योसँग कुरा मिलेन भने त्योसँग, त्योसँग कुरा मिलेन भने योसँग जहाँ जोसँग पनि हात र गला मिलाउन सक्ने चलायमान स्वभाव । उतिखेरको उतिखेरै कसैले सोच्दै नसोचेको कुरा गरेर देखाउन सक्ने क्रान्तिकारी मान्छे । यस्तो स्वभाव र गुणले भरिएका मान्छे फेरि प्रधानमन्त्री भएपछि जे पनि हुन सक्ने भैहाल्यो । अनि के चाहियो ? भोकालाई माम, बेरोजगारलाई काम, सुको नभएकोलाई दाम । धारामा पानीको भल, खेतबारीमा रासायनिक मल । बीउबीजन, सिँचाइ र खेताला नपाएर खेती गर्न सकिएन भन्ने चिन्ता हट्यो । फलेको तरकारी र फलफूल बेच्ने बजारको अभाव भएन । भनेजस्तो भाउ पाइएन भन्दै टाउकोमा हात राखेर झोक्राउनु पनि परेन । किसानमुखी सरकार, मजदुरमुखी सरकार, गरिबमुखी सरकार ! सबैको दिन फिर्यो । विकास निर्माणको कामले गति लियो ।

प्रधानमन्त्री भन्दा अझ फुर्तिला र आँटिला गृहमन्त्री । टेलिभिजनबाट त भ्रष्टाचारीलाई तह लगाउन सक्ने मान्छे अब ठाउँमै पुगेपछि तह नलाग्ने भन्ने कुरै भएन । नाकको डाँडी भाँचिने हो कि भनेर ठूलाबडाले नाकको बीमा गरे । भ्रष्टाचारीको सातो गयो । बिचौलियाको भागाभाग भयो । सरकारी अड्डामा घुस नखुवाइकन काम हुन थाल्यो । कामको लागि एउटाले अर्कोलाई, अर्कोले फेरि अर्कोलाई देखाएर झुलाउने प्रवृत्तिको अन्त्य भयो । 

नयाँ गठबन्धनमा मिसिएका राप्रपा, जसपा, जनमत र जनमुक्तिका त आआफ्नै विशेषता । कोही नयाँ र वैज्ञानिक, कोही पुराना र अनुभवी । सबैलाई आफ्नोभन्दा देश र नागरिकको चिन्ता । देशको काँचुली फेर्ने सपना । केही गरौँ भन्ने हुटहुटी । 

कसैले सोच्दै नसोचेको सरकार बन्यो, सोच्दै नसोचेको काम भयो । रोग लाग्नासाथ गाउँमै उपचार हुन थाल्यो । एक रुपैयाँ खर्च नगरि छोराछोरीलाई स्कुल पढाउन पाइयो । पढाइ सक्नेबित्तिकै जागिर मिल्यो । योग्यताअनुसारको काम, कामअनुसारको दाम, पेटअनुसारको माम । सबैथोक देशमै हुने भएपछि विदेश किन जानुपर्यो ? अब पढ्न र काम गर्न भन्दै विदेश गइँदैन । पासपोर्ट र भिसा पनि बनाइँदैन ।

पासपोर्ट बनाउनको लागि हातमा राखेको कागज च्यातचुत पारेर फाल्नै लाग्दा पुसको चिसोले हात कठाङ्ग्रियो । देशले कोल्टे फेरेको तस्बिर हेर्दाहेर्दै पुसको चिसोले आँखा खुल्यो । आँखा मिच्दै हेर्दा अघिपछि लामो लाइन । पासपोर्टको लागि मध्यरातदेखि लाइनमा उभिएका आफूजस्तै अरु मान्छे । कोही कागज जम्मा पारेर आगो ताप्दैछन् । कोही एकअर्काको खुट्टामा टाउको अड्याएर उँघ्दैछन् । कोही पत्रिकामा विकास र परिवर्तनको भाषणले भरिएका समाचार पढ्दैछन् । पत्रिकामा ठूल्ठूला अक्षरमा लेखिएको रहेछ : लाइसेन्स र पासपोर्टको लागि अब लाइनमा उभिन नपर्ने !

अन्तिम अपडेट: चैत २६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Devilal Paudel

    Jan. 2, 2023, 9:58 a.m.

    यत्तिका दिन सम्म हुन नसकेको समस्याको हल २ / ४ दिनमा हुन्छ भन्ने छैन, सचेत नागरिकले प्रतीक्षा गर्नुपर्छ समाधान निकाल्न केहि समय लाग्न सक्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया