अस्तव्यस्त सार्वजनिक यातायात : सुविधा कम, सास्ती धेरै

 पुस १९, २०७९ मंगलबार १२:१५:३३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

पुसको छोटो दिनमा बेलुकीको कार्यालय समय । बस्ने ठाउँ पुग्ने हतारोमा गाडी पर्खिरहेका यात्रु । गाडीको लाइनभन्दा यात्रुको घुईंचो ठूलो । अब यस्तोमा महिला, बालबालिका, वृद्धवृद्धाको अवस्था के होला कल्पना गर्न पनि गाह्रो छ ।

यो हाम्रो सांगोपांगो सार्वजनिक सवारीको वर्तमान यथार्थ हो । काठमाण्डौको सुन्धारामा कार्यालय समयमा देखिने घुईंचोले सार्वजनिक सवारीको अवस्थाको एउटा प्रतिनिधित्व गर्छ । शहीदगेट, रत्नपार्क, जमल, बागबजारको भक्तपुर मिनिबस पार्क आदि भित्री सहरका गाडी बिसौनी र सार्वजनिक सवारीको अवस्था र कथा प्रायजसो उस्तै छ ।

यस्तै कथा बोकेर बाटोमा उभिनु भएको छ सुक्मित राना मगर । नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थी उहाँ कीर्तिपुर जाने गाडी कुरिरहनु भएको हो । उहाँलाई बिहान १० बजेको क्याम्पस आइपुग्न करिब एक घण्टा लाग्छ । नौ बजे खाना खाइवरी गाडी कुरेर १० बजे कलेज आइपुग्न मुश्किलै छ । बेलुकी चार बजे कलेज छुटेर सयममै गाडी पाएर फर्केको पनि त्यति याद छैन उहाँलाई ।

उहाँ भन्नुहुन्छ, ‘गाडी त पाइन्छ तर, भिड, कोचाकोचको के कुरा गर्नु । साझा यातायातमा उभिन अलि सजिलो छ । अरु सानो गाडीमा दुई तिर बसालेर पेलापेल नै हुन्छ ।’

अरु साना गाडीले विद्यार्थीलाई भाडा छुट नदिने हुँदा विद्यार्थीको रोजाइ ठूलो गाडी हुने गरेको उहाँ बताउनुहुन्छ । सिटमा बसेर बिरलै यात्रा गरेको बताउने मगर भन्नुहुन्छ, ‘बस्ने परको कुरा उभिन पनि सजिलो गरी पाए राम्रो । उभिएर चढ्नु छ अनि त्यसमा पनि जाममा पर्दा उभिन गाह्रो हुने र समयमै नपुगिने अर्को समस्या छ ।’

कीर्तिपुर क्षेत्र गाडी राम्रै र सजिलै पाइने मध्येमा पर्छ । यहाँको अवस्था एक जना भर्खरका कलेज पढ्ने युवाका लागि त यति कष्टकर छ भने अरु महिला अशक्त तथा वृद्धवृद्धाहरुको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।

काठमाण्डौको नेपालटार बस्ने उपासना अधिकारीसँग पनि सार्वजनिक यातायात प्रयोगको नमिठो भोगाइ छ । महिला पनि भएका कारण उहाँले त दुर्व्यवहारसमेत भोग्नुभएको थियो केही वर्ष अगाडि । तर, त्यो दुर्व्यवहार भए/नभएको यकिन गर्न नसकेको अनि उमेरको अपरिपक्वताका कारण आफूले त्यसका विरुद्ध आवाज उठाउन नसकेको बताउनुहुन्छ अधिकारी ।

उहाँ भन्नुहुन्छ, ‘पहिलो त बस कम भएका कारण भेट्नै मुश्किल छ । केटाहरु दौडेर चढ्छन् । उनीहरु भित्र गएपछि सजिलै बस्छन् । तर, महिला भएका कारण हामी भित्र गए पनि एडजस्ट भएर बस्न गाह्रो छ ।’

अधिकारीले भने जस्तो महिलाका लागि गाडी पाउनै गाह्रो पाए पनि त्यसमा सहजसँग यात्रा गर्न अर्को गाह्रो र अत्यधिक भिड हुने कारणले भिडको निहुँ बनाएर त्यसमा दुर्व्यवहार पनि थपिने हुँदा सार्वजनिक यातायातमा यात्रा गर्नु महिलाका लागि झनै पीडादायी हुने गर्छ ।

सीमित गाडी अनि समय तालिका विना चलाउने गर्दा सार्वजनिक यातायातमा बढी भिड हुने गरेको छ । त्यसमा कार्यालय समय अनि स्कूल, कलेजको समय र अन्य जात्रा, पर्व तथा समारोहमा सार्वजनिक यातायातमा बढी नै भिड हुने गर्छ । अन्य सामान्य समयमा त गाडी पाउन गाह्रो भइरहेको अवस्थामा महिला, अशक्त, केटाकेटी तथा वृद्धवृद्धाको लागि सार्वजनिक यातायातको प्रयोग झनै मुश्किल छ ।

तर, यस्ता कुरामा विमति जनाउँछन् यातायात व्यवसायी । गाडी कम भएको स्वीकार गरे पनि यात्रु थोरै हुँदा लगानी नै नउठ्ने हुँदा छिटो छिटो गाडी चलाउन नसकिएको उनीहरुको तर्क छ । तर, पनि समयको पनि पालना गरेको पनि दाबी छ व्यवसायीको ।

दोलखा मैनापोखरीका केशव दाहाल पेशाले चालक हुनुहुन्छ । उहाँ सहचालक हुँदै, चालक तथा व्यावसायी पनि हुनुहुन्छ । उहाँ नारायणटार– रत्नपार्क चल्ने निलो माइक्रोबस चलाउनुहुन्छ । १४ जना क्षमताको गाडी उहाँ बिहान पाँच बजेदेखि बेलुका आठ बजेसम्म नै गाडी चलाउनुहुन्छ ।

यो रुटमा निलो माइक्रो एक सय तीस वटा चल्छ । तर, यति धेरै सङ्ख्यामा गाडी चले पनि यात्रुको गुनासो भने समयमै गाडी नपाएको र भिड बढेको भन्ने छ । दाहाल भन्नुहुन्छ, ‘विशेष गरेर अफिसटाइममा जाम पर्यो भने भिड हुन्छ । अब कसैलाई हतार पर्यो भने जस्तोसुकै अवस्थामा पनि गाडी चढ्नु पर्ने हुन्छ । त्यसैले भिड हुने हो ।’

सार्वजनिक यातायातलाई मर्यादित, सम्मानित र यात्रुमैत्री बनाउन एकपटक सङ्घसंस्था नवीकरण गरेर प्राधिकरण गठन गरेर अगाडि बढाएमा दीर्घकालीनरुपमा समस्या समाधान हुने बताउनुहुन्छ नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर ।

नेपालको सार्वजनिक यातायात सबै नै निजी क्षेत्रबाट सञ्चालन भएको हुँदा यसलाई मर्यादित र व्यवस्थित तथा यात्रु मैत्री बनाउन पनि सरकारलाई बेलाबेलामा सुझाव दिने गरेको भनाइ छ अध्यक्ष स्वाँरको ।

उहाँ भन्नुहुन्छ, ‘पहिले यातायात व्यवसायी सङ्घसंस्था विघटन भएपछि रुपान्तरण गर्दै हामीलाई प्रालिमा लगियो । तर, कार्यविधि बनेन । त्यसले भद्रगोल भयो ।’

उपत्यका भित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने हो भने रुट व्यवस्थापन, चढाउने र ओराल्ने तथा रुट अनुसार र बाटो अनुसारको गाडीको व्यवस्थापन गर्नुपर्ने सुझाव पनि छ स्वाँरको । उहाँ भन्नुहुन्छ, ‘रुट म्यानेजमेन्ट, पिकअप एण्ड ड्रपलाई व्यवस्थित गरेर प्रविधियुक्त बनाएर जान सकियो भने जनअपेक्षा अनुसार सञ्चालन गर्न सकिन्छ ।’

अहिले रुट परमिट पनि जथाभावी वितरण गरिएको र केन्द्रीय बसपार्कबाट गाडी नछुटी अन्यत्रबाट छुट्ने गरेकोमा पनि छोटो तथा लामो दूरीको यातायात व्यवस्थित हुन नसकेको उहाँको तर्क छ ।

स्वाँर भन्नुहुन्छ, ‘रुट परमिटका लागि यसभन्दा अगाडि नै एडीबीले प्राथमिक, मध्यम तथा टर्सरी रुट भनेर पहिले नै तोकेको छ । त्यस अनुसार सवारी अगाडि बढाउन सकियो भने अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन र सहज यात्रा गर्न सकिन्छ ।’

अहिले मोटरसाइकल सडकको क्षमताभन्दा धेरै भएको र सम्भव भएका सडकमा सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था गर्ने हो भने पनि अहिलेको सार्वजनिक यातायातमा धेरै सुधार गर्न सकिने बताउनुहुन्छ स्वाँर ।

स्वाँरको प्राधिकरण गठन गर्ने कुरामा सहमत देखिनुहुन्छ यातायात विज्ञ आशीष गजुरेल । अहिले सार्वजनिक यातायातमा सबै लगानी निजी क्षेत्रले गरेको हुँदा मनोमानी बढेको र सरकारले पनि कडाइ गर्न नसकेको उहाँको विचार छ ।

यदि सार्वजनिक यातायातमा सुधार गर्ने हो भने यातायात प्राधिकरण गठन गरेर सार्वजनिक यातायात कम्पनी खडा गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले विद्युत् प्राधिरण तथा दूरसञ्चार प्राधिकरण जस्तो यातायात प्राधिकरण गठन गर्ने र सार्वजनिक यातायात कम्पनी खडा गर्ने हो भने सार्वजनिक यातायातमा सुधार हुन्छ ।’

उहाँका अनुसार सार्वजनिक यातायात कम्पनीमा सरकार तथा निजी क्षेत्र दुवैको सेयर हुने गरी व्यवस्था मिलाउने । अहिलेका यातायात व्यवसायीको कति गाडी छ त्यसको हिसाब गरेर मूल्यांकन गर्ने तथा सबै प्राधिकरण अन्तर्गत आउने र त्यसै अनुसारको सेयर वितरण गर्ने । अनि एउटा निश्चित मुनाफा कमाउने उद्देश्यले व्यवस्थापन मिलाउने । यदि त्यस अनुसार मुनाफा हुन सकेन भने त्यसको व्यवस्थापन सरकारले गर्ने ।

यसो गर्दा टिकट, रुट तथा समय तालिका पनि एकीकृत हुन्छ । र, सार्वजनिक यातायातको माग कस्तो छ भनेर अध्ययन गरेर माग अनुसारको आपूर्ति गर्ने हिसाबले एकीकृत रुट तालिका, एकीकृत समय व्यवस्थापन र टिकट व्यवस्थापन गर्न सकियो भने अहिलेको सार्वजनिक यातायात व्यवस्थापनमा सुधार आउने गजुरेलको विश्वास छ ।

उहाँ भन्नुहुन्छ, ‘यसरी सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो, मर्यादित र व्यवस्थित गराउन सकियो भने मान्छेहरु निजी सवारी थन्क्याएर सार्वजनिक सवारीमा आउँछन् ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Kiran

    Jan. 4, 2023, 3:19 a.m.

    यात्रुलाई सार्वजनिक गाडी चढाउन प्रोत्साहन दिनुपर्ने ठाउँमा उल्टै सास्ती छ ...अनि किन नबढोस त नीजी गाडी ..

  •  0 Reply

तपाईको प्रतिक्रिया