जलवायु परिवर्तनले मौसमजन्य विपद् बढ्दै

 पुस २०, २०७९ बुधबार ९:३७:२० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

मनाङको ङिस्याङ गाउँपालिका–६ मा पर्ने गंगापूर्ण हिमताल / तस्बिर सौजन्य : टासी आर घले ।

हिमाली जीवजन्तु, पर्यावरण र जीवनशैलीको फोटो खिच्दै आउनुभएका मनाङका टासी आर घलेलाई हिमाली भेगमा आएको बदलावले पिरोल्न थालेको छ । संरक्षण अभियानमा दुई दशक बिताएका घले भन्नुहुन्छ ‘वर्षायामको अन्त्यतिर सामान्य पानी पर्ने ठाउँमा शुरुमै ठूलो पानी पर्न थाल्यो, हिउँ पर्ने क्रम घटेर पग्लिने क्रम बढेको छ, खेतीबालीमा किराको प्रकोप बढेको छ, लामखुट्टेले टोक्न थाले ।’

अघिल्लो महिना हिमाली क्षेत्रमा देखिएका समस्या झल्काउने फोटो प्रदर्शनी गर्नुभएका शेर्पाले प्रदर्शनीको नाम पग्लिरहेको स्वर्ग राख्नुभएको थियो । भन्नुहुन्छ ‘साँच्चै स्वर्ग पग्लिरहेको छ ।’ 

घले जस्तै दुई दशकदेखि हिउँ संरक्षणको अभियान चलाईरहनुभएका पीके शेर्पा पनि हिमाल पग्लिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘मैले देख्दादेख्दै हिमरेखा निकै माथि पुगेको छ, हिमालमा कालो पहाड देखिएका छन्, हिमनदी र हिमतालको आकार बढेकोछ, यि सबै खतरका संकेत हुन् ।’ हिमाली भेगमा बढिरहेका यी समस्याहरु जलवायु परिवर्तनका असर भएका जलवायु विज्ञहरु बताउँछन् । समस्या हिमाली क्षेत्रमा मात्र हैन सबैतिर देखिन थालेको छ । जसको कारण मौसमजन्य विपद्का घटनाहरु बढिरहेका छन् । 

प्राक्टिकल एक्सनको दक्षिण एसिया जलवायु तथा विपद कार्यक्रम प्रमुख डा. धर्मराज उप्रेती नेपालमा जलवायु परिवर्तन मात्र नभई जलवायु संकटको चरणमा पुगेको बताउनुहुन्छ । भन्नुहुन्छ ‘२०७८ सालमा मेलम्चीको सभ्यतानै खतरामा पार्नेगरी आएको बाढी, हिमालपारीको जिल्ला मनाङमा भएको वर्षा र बाढी र त्यही वर्ष मनसुन बाहिरिएपछि सुदूरपश्चिममा भएको वर्षाले पुर्‍याएको क्षति यी सबै जलवायुजन्य विपदका घटना हुन् ।’

पछिल्ला तीन दशकमा गरिएका अध्ययनले हरेक दशक जलवायुजन्य विपदका घटना बढिरहेका र अझ पछिल्लो दशकमा बढेको उप्रेती बताउनुहुन्छ । सन् २०१० देखि २०२० को अवधिमा जलवायुजन्य विपदका घटनाबाट संरचनामा क्षति पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको र हराएका सहित झण्डै दुई हजार मानिसको ज्यान गएको उप्रेतीले बताउनुभयो । 

वि.स.२०७८ सालमा मनाङमा गएको पहिरो अवलोकन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली / तस्बिर : रासस ।

यो क्रम पछिल्ला वर्षहरुमा झनै बढेको छ । सन् २०२० मा जलवायुजन्य विपदका घटनामा हराएका सहित झण्डै चार सय जना मानिसको ज्यान गयो भने २०२१ मा झण्डै तीन सय र २०२२ मा साढे दुई सय जनाले ज्यान गुमाएका छन् । जलवायु परिवर्तनको असरले विशेषगरी बाढी, पहिरो, हिमताल विस्फोटन, हावाहुरी, चट्याङ, डढेलो, प्रदुषण लगायतका मौसमजन्य विपदका घटनाहरु बढिरहेका छन् । 

पानीको चक्र र जलाधारमा संकट

धेरै पानी पर्ने अर्थात अतिवृष्टि, पानी नपर्ने अर्थात अनावृष्टि र कतै ठूलो पानी पर्ने र कतै पर्दै नपर्ने खण्डवृष्टि जस्ता अवस्था पछिल्लो वर्ष बढेको छ । समयमा पानी नपर्नु, एकै पटक धेरै पर्नु, हिमालमा हिउँ कम पर्नु तथा पग्लिनु जस्ता समस्या प्रत्यक्ष देखिन थालेका छन् । यस्ता समस्याले बाढी, पहिरो, डुवान, खडेरी लगायतका समस्या बढिरहेको जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ । 

मौसमजन्य विपदका घटनाको सम्भावना बढाएको छ भने यसले पानीजन्य संकटको अबस्था पनि ल्याउन सक्छ । उप्रेती नेपालमा पानीका बैकल्पिक स्रोतहरु धेरै भएकोले तत्कालै संकटको अवस्था नदेखिए पनि आकासे पानीमा आधारित कृषि प्रणालीमा ठूलो क्षति गर्ने बताउनुहुन्छ । कुनै ठाउँ विशेषमा पानीको चर्को अभाव हुन सक्छ । पानीका मुहानहरु सुक्दै गएका विवरणहरु सार्वजनिक भैरहेका छन् । हिउँ पग्लिने क्रम बढ्दा यसले तटीय क्षेत्रसम्म नै पानीको जोखिम बढाउँछ । 

यस वर्ष डिसेम्बर महिनाभर पानी परेन । हिउँदे झरीको समयमा पानी नै नपर्नु र समुद्रमै न्यूनतम तापक्रम घट्नुले सुख्खापन र चिसो दुवै बढाएको उप्रेती बताउनुहुन्छ । चिसो र सुख्खा बढ्दा वायु प्रदुषण खराब अवस्थामा पुगेको छ । यस्ता घटनाहरुले विपद्का घटना बढीरहेका छन् ।

नदी तटीय क्षेत्रको बस्ति र आयोजनाहरु जोखिममा

मेलम्ची नदीमा आएको बाढीले जनधनको ठूलो क्षति भयो । अरु नदी तटीय क्षेत्रमा पनि डुवान तथा बस्ती नै बगाउने घटना भैरहेका छन् । जलवायु परिवर्तनको असर र खतरा बाढी, पहिरो र डुवानको जोखिम भएको ठाउँमा बढी देखिन्छ । विशेषगरी नदी तटीय क्षेत्रका बस्ती र आयोजनाहरु बढी जोखिममा परेका छन् । हिमताल विस्फोट, पहिरोले नदी थुनिने जस्ता अबस्थाले नदीमा बाढी आउँदा ठूलो जनधनको क्षति हुन सक्छ । यस्तै एकै ठाउँमा लगातार ठूलो पानी पर्दा पहिरो र बाढीको जोखिम बढाएको छ । 

वि.स. २०७८ सालमा मेलम्ची नदीमा आएको बाढी / तस्बिर : रासस ।

तटीय क्षेत्रमा मानिसको ज्यान जाने घटनासँगै ठूलो लगानी रहेका भौतिक संरचनामा पनि जोखिम बढिरहेको छ । नेपालको उर्जाको मूख्य स्रोत रहेको बिजुली उत्पादनसँग पनि जलवायु परितर्वनको असर जोडिएको छ । बिजुलीलाई अब नेपालले निर्यातजन्य मुख्य उत्पादनको रुपमा पनि हेरिरहेको छ, तर जलविद्युतका आयोजनाहरुमा जलवायुजन्य विपदका कारण जोखिम बढ्दै गएको जलवायु अध्येता अजय दिक्षीत बताउनुहुन्छ । जलविद्युत आयोजनासँगै नदीमा रहेका पुल तथा नदी किनारको सडक पनि उस्तै जोखिममा छन् । 

राजनीतिमा जलवायु परिवर्तन 

यो वर्ष तीनवटै तहका चुनाव सम्पन्न भए । पालिका तथा संघ र प्रदेशका चुनावमा राजनीतिक दलहरुले जलवायु परिवर्तनको मुद्दालाई उठाएका छन् । पछिल्लो पटक भएको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा त सबैजसो दलहरुले घोषणापत्रमै जलवायु संकट न्यूनीकरणको प्रतिबद्धता गरेका छन् । यसले अनुकूलनका कार्यक्रम र क्षति न्यूनिकरणका कार्यक्रममा सहयोग पुग्ने जलवायु अध्येता मञ्जित ढकाल बताउनुहुन्छ । 

तर जलवायुको मुद्दा उठाउँदा राजनीतिक दलहरु सचेत हुनुपर्ने भन्दै ढकाल भन्नुहुन्छ ‘ राजनैतिक बृतमा जलवायु परिवर्तन वारे छलफल हुनु सकारात्मक हो । तर यसवाट हुने असर र प्राप्त अवसर बुझ्ने भन्दा पनि जलवायु परिवर्तन भन्नासाथ विद्रोह गर्न सिकाइनु व्यावहारिक होईन । हाम्रा लागि जलवायु परिवर्तन अवसर पनि हो भन्ने कुरा बुझ्नु पर्दछ ।’

राजनीतिमा बुझाई र व्यवहार स्पष्ट नभई जलवायु संकट कम गराउन मुस्किल छ । यसैले राजनीतिक दलहरुले यो मुद्दालाई व्यवस्थित गरेर देशभित्र आवश्यक ऐन कानुन निर्माण र कार्यान्वयन तथा अन्तर्राष्ट्रिय समुदायमा क्षतिपूर्तिको मागसहित बलियो उपस्थिति जनाउनुपर्ने ढकालको सुझाव छ । 

जोखिम बढेपछि पानीको सतह घटाइएको सोलुखुम्बुमा रहेको इम्जा हिमताल / तस्बिर : इसीमोड ।

अब जलवायु परिवर्तनबाट देखिएको प्रभावहरु बढ्दो तापक्रम, खडेरी, भारी वर्षा, पग्लिंदै गएको हिमाल लगायतको प्रभावबारे सूक्ष्म बुझाइ निर्माण गर्न अत्यावश्यक भइसकेको छ । बढ्दो मानवीय क्षति र द्वन्द्व रोक्न जलवायु परिवर्तनको विषयलाई सुरक्षा सम्बन्धी मुद्दाका रूपमा हेरिनुपर्छ । जलवायु परिवर्तनकै कारण थुप्रै नागरिक थातथलोबाट विस्थापित हुन बाध्य छन् । स्थानीयका अनुसार, उनीहरूले गाउँ छोड्नुको प्रमुख कारण खानेपानीको अभाव हो । यस्तै खडेरीले उत्पादन कम हुनु, विपदको जोखिम बढ्नु जस्ता कारण पनि मानिसहरु थातथलो छाड्न थालेका छन् । 

खडेरी र बसाइँसराइ जस्ता वातावरणीय परिवर्तन सुस्त हुन्छन्, तर यीनको प्रभाव गहिरो हुन्छ । लामो समय पानी नपर्दा वा थोरै वर्षा हुँदा कृषि प्रणाली बिग्रिएर खाद्य संकट निम्तिन सक्छ । तसर्थ, प्राकृतिक वातावरणमा निर्भर किसान परिवारले जीविकोपार्जनकै निम्ति पनि बसाइँ सर्नुपर्ने हुन्छ । जलवायु तथा विपद्बिज्ञ डा. धर्मराज उप्रती मानिसहरुलाई बैकल्पिक सीप सिकाएर सम्भावित जोखिमसँग जुध्न सक्ने बनाउनुपर्ने बताउनुहुुन्छ । 

जलवायुजन्य विपदको खतराबाट हुने क्षति बढ्दै गए पनि सरकारले खासै चासो दिएको छैन । संघीय सरकारले नीतिगत रुपमा गर्नुपर्ने कामसँगै पालिका सरकारले पनि आफ्ना कार्यक्रमहरुमा ध्यान दिनुपर्ने जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ । जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने स्तरका क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत जुटाउन सरकारले थप पहल गर्नुपर्ने विज्ञहरु बताउँछन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया