विद्यार्थीको परीक्षा लिने त्रिविको परीक्षा कसले लिने !

 पुस २२, २०७९ शुक्रबार १३:२९:२७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

ठूला कोठासहितको विशाल भवन । पर्याप्त खुला ठाउँ, आँगन र बगैँचा । गाडी राख्नका लागि पर्याप्त पार्किङ पनि । परीक्षा नियन्त्रण कार्यालय बल्खुको प्राङ्गण आकर्षक देखिए पनि अनलाइन र डिजिटल भुक्तानीका धेरैथरी सेवाहरु हुँदाहुँदै पनि विद्यार्थी भने अहिले पनि पैसा तिर्न लाइन लाग्छन् ।

त्यसमाथि कर्मचारीको खाजा खाने समय पर्न जाँदा कर्मचारी कहिले आउलान् र पैसा लिइदेलान् भनेर विनयी भावमा लाइन बस्नुपर्ने अवस्था छ । यसले हाम्रो विश्वविद्यालयको गुणस्तर र दक्षता मात्रै देखाउँदैन हामीले कस्तो शिक्षा दिइरहेका छौँ भन्ने पनि दर्शाउँछ । पहिले एउटा मात्र बैँकको शाखा हुँदा अचाक्ली लाइन हुन्थ्यो । विद्यार्थीको दबाबपछि अहिले बैँकका दुई वटा शाखा सञ्चालनमा रहेको हुँदा तुलनात्मक रुपमा विद्यार्थीलाई सजिलो भएको छ ।

तर, समयमा ट्रान्सक्रिप्ट ननिस्कने, नाम, सिम्बोल नम्बर दुरुस्त नहुनुलाई त विद्यार्थीले सामान्य समस्या मान्न थालिसके । जाँच दिएको विषयमा अनुपस्थित, अनुपस्थित हुँदा पनि उत्तीर्ण, उत्तीर्ण विद्यार्थीको अनुत्तीर्ण, गलत प्राप्ताङ्क प्रविष्ट हुने जस्ता गम्भीर गल्तीले विद्यार्थीलाई मारमा पारेको छ । गलत हुने कुरा त भयो केही भएन । तर, परीक्षा नियन्त्रण कार्यालयका कारण भएका यस्ता गल्तीहरु औँल्याउँदै यसलाई सच्याउन परीक्षा नियन्त्रण कार्यालय पुग्दा त्यहाँका कर्मचारीले गर्ने व्यवहारले भने विद्यार्थीको कन्पारो तात्ने गर्छ र बेलाबखत तोडफोडसमेत हुने गर्छ ।

परीक्षा नियन्त्रण कार्यालयको यस्तै व्यवहारले हैरानी खेपिरहनु भएको छ महेन्द्रनगरकी प्रेक्ष्या पाठकले । उहाँले सामान्यतया अन्य विद्यार्थीले भोग्दै नभोग्ने समस्या भोग्नु पर्यो । उहाँको ट्रान्सक्रिप्टमा रजिस्ट्रेशन नम्बर नै गलत पर्यो । यतिसम्म मात्र होइन एउटै रजिस्ट्रेशन नम्बरका दुई वटा ट्रान्सक्रिप्ट बने ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान सक्कली लब्धाङ्क पत्र बुझाउने बेलामा मात्र डेढ वर्षपछि बल्ल उहाँलाई थाहा भयो उहाँको रजिस्ट्रेशन नम्बर गलत रहेको कुरो । उहाँको रजिस्ट्रेशन नम्बर सात सय बीस हो । अङ्ग्रेजीको आठ र शून्यमा छापिँदा अलि झुक्किने खालको थियो । उहाँले त्यसलाई आठ लेख्नुभयो । स्नातक तहदेखि स्नातकोत्तरसम्म आउँदा पनि उहाँले आठ नै लेख्नुभयो । तर, उच्च शिक्षाको अध्ययनका लागि प्रमाणपत्र बुझाइसकेपछि कार्यालयले तपाईँको रजिस्ट्रेशन नम्बर गलत छ आएर सच्याउनुस् भन्ने खबर आयो । 

सबै प्रमाणपत्र ल्याएर सच्याउन एक महिना लाग्छ भनियो । उहाँ सुरुमा आएर ट्रान्सक्रिप्ट शाखामा सम्पर्क गर्दा गोप्य शाखामा जान भनियो । तर, विद्यार्थीलाई गोप्य शाखामा जाने अनुमति छैन । तर, उहाँलाई भने अध्ययनमा जानका लागि एक हप्तामा ट्रान्सक्रिप्ट चाहिने थियो । त्यहाँका कर्मचारीले विद्यार्थीको गल्ती हो समय लाग्छ भनेपछि विवाद भयो र तोडफोड नै भयो । अनि बल्ल समझदारीमा उहाँको काम भयो । तर, काम हुँदा पनि फेरि कलेजको नाम गलत भएर आयो । यसका लागि उहाँ आफ्ना सबै काम छोडेर दश/बाह्र पटक त धाउनु नै पर्यो । 

परीक्षा नियन्त्रण कार्यालय धाउँदा धाउँदै थकित देखिुनभएकी अधिकारी भन्नुहुन्छ, ‘लोकसेवा लगायत बाहिर पढ्न जानको लागि फर्म भरिएको हुन्छ । अब ट्रान्सक्रिप्ट बनाउनै एक महिना लाग्छ भनेपछि कहिलेकाहीँ यही ट्रान्सक्रिप्टका कारण लोकसेवाको परीक्षा छुट्ने तथा बाहिर जान पनि पाइन्नँ ।’ उहाँ अगाडि थप्नुहुन्छ ‘अब सरले चिठी लेखिदिन्छु त भन्नु भएको छ । तर, त्यसले भएन भने मेरो ३० लाख भने बल्खुले नै हेर्नुपर्छ ।’

विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीको समय खेर गइरहेको छ भने पैसा पनि डुब्ने खतरा देखिएको छ । यसमा विद्यार्थी तथा परीक्षा नियन्त्रण कार्यालय दुवै उत्तिकै सचेत हुनुपर्ने देखिन्छ ।

अहिले नियमानुसार जाने हो परीक्षा नियन्त्रण कार्यालयमा ट्रान्सक्रिप्ट बनाउन एक महिनाको समय सामान्य मानिन्छ । तर, विद्यार्थीको चापको आधारलाई नै मान्ने हो भने पनि एक हप्तामा बन्नुपर्ने देखिन्छ । कर्मचारीको अभाव, भएका कर्मचारी पनि प्रविधिमैत्री नहुनु र कामको बोझका कारण समस्या हुने गरेको छ । त्यसमाथि कर्मचारी र विद्यार्थीबीच बेलाबेला हुने अहमकाे द्वन्द्वका कारण पनि काममा ढिलासुस्ती हुने गर्छ ।

विद्यार्थीले कार्यालयलाई दोष लगाउने र कार्यालयले विद्यार्थीलाई दोष लगाउने गर्दा समस्या झन् बल्झेको देखिन्छ । यसमा विद्यार्थीको भन्दा पनि कार्यालयको धेरै दोष रहेको बुझाइ छ नवलपरासीका विद्यार्थी सुमन अधिकारीको । विश्वविद्यालयको परीक्षा समयमा नहुने, नतिजा समयमा नआउने, प्रश्नपत्र दोहोरिने, किनबेच हुने जस्ता गम्भीर समस्या रहेको अधिकारीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘परीक्षा समयमा नहुने, रिजल्ट समयमा नआउने, शिक्षक, प्रोफेसर नियुक्तिमा राजनीतिक भागबण्डा हुने जस्ता अनेकौँ समस्या रहेका छन् ।’

उहाँको आरोप त विश्वविद्यालयमा समस्यै समस्या रहेको भन्ने छ । विश्वविद्यालय प्रशासनको भने विद्यार्थीले अनावश्यक राजनीति गरेर पठनपाठन हुन नदिने र काम गर्न व्यवधान गर्ने गरेको आरोप छ । तर, अधिकारी यो विश्वविद्यालय प्रशासनको विद्यार्थी सङ्गठनलाई आरोप लगाएर उम्किने बहाना मात्रै भएको बताउनुहुन्छ । 

विद्यार्थी सङ्गठनमा हुने गरेको राजनीति र विश्वविद्यालय प्रशासनबीच कुरो नमिल्दा पठनपाठन ठप्प हुने गरेका धेरै उदाहरण छन् । विश्वविद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म लगाएको ताला खुलेको धेरै समय नभएकोले यसमा सत्यता रहेको देख्न सकिन्छ ।

विद्यार्थी सङ्गठन र विश्वविद्यालय व्यवस्थापनबीच बाहिर देखाउँदा एउटा कुरा र अन्तर्यमा अर्कै कारण रहने गर्दा विश्वविद्यालयमा ताला लाग्ने गरेको छ । यसका लागि सङ्गठनले व्यवस्थापनलाई र व्यवस्थापनले सङ्गठनलाई  दोषारोपण गर्ने गर्छन् । व्यवस्थापन ठीक नहुनुमा राजनीतिक नियुक्ति र चरम लापरबाहीका कुरामा अनि आरोप प्रत्यारोप उस्तै छ ।

चरम राजनीतिक नियुक्तिका कारण परीक्षा नियन्त्रण कार्यालयले सोचे जस्तो काम गर्न नसकेको उस्तै आरोप छ परीक्षा नियन्त्रक पुष्पराज जोशीको पनि । विश्वविद्यालयमा प्राध्यापकदेखि कर्मचारी सबै राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने हुँदा काम नभएको उहाँको भनाइ छ ।

विद्यार्थीका ट्रान्सक्रिप्टदेखि अन्य कुराको काम गर्न चाहिँ नभ्याउने तर, दलका कार्यक्रम चाहिँ सबै भ्याउने थप आरोप रहेको छ जोशीको । विकास समितिले पहिले स्थानीयलाई कर्मचारीमा प्राथमिकतामा राखेको र पछि दलका कार्यकर्ता भर्ना गरेका कारण आफ्नो दल, चिने जानेका र विद्यार्थी नेताका काम भने हुने तर, अरु विद्यार्थीको एकै दिनमा हुने कामका लागि पनि महिना दिन तथा १५ दिन लगाउने गरेको उहाँ आफैँ आरोप लगाउनुहुन्छ ।

‘गएको भदौमा भएको परीक्षाको अझै नतिजा सार्वजनिक भएको छैन । त्रिवि खराब छ भन्ने देखाउने कर्मचारी उद्धृत छन् । तर, सबै प्रशासक निजी कलेजसँग जेन्टलम्यान एग्रीमेन्ट गर्छन् र निजीकरणको बाटोमा लागेका छन्,’ जोशी भन्नुहुन्छ ।

पुरानो कर्मचारी संयन्त्र, काम नगर्ने प्रवृत्ति, विद्यार्थी सङ्गठन तथा प्राध्यापक सङ्घका नाममा हुने चरम राजनीति, विश्वविद्यालयमा नपढाएर निजी शिक्षण संस्थामा पढाउन जाने प्रवृत्ति जस्ता अनगिन्ती समस्याको चपेटाबाट त्रिवि गुज्रिएको छ । यसमा सुधारका लागि पहिलो त उपकुलपतिको नियुक्तिदेखि अन्य नियुक्तिसम्ममा हुने राजनीतिक भागबण्डा र नियुक्तिलाई रोक्नुपर्ने हुन्छ ।

यसमा सहमत देखिनुहुन्छ जोशी । ‘त्रिविमा एकदमै उथलपुथल हुने गरी परिवर्तन नगरेसम्म परिवर्तन हुँदैन । त्यहाँ भएको कर्मचारीतन्त्र ध्वस्त गरेर नयाँ भर्ना नगरेसम्म नयाँ पद्धतिबाट अगाडि बढ्न सकिन्न,’ उहाँ भन्नुहुन्छ, ‘हामी आजको प्रविधि आजको समय अनि आजको परिवेशमा हामीलाई आजको भोलि, भोलिको पर्सि डकुमेण्ट चाहिने । यसका लागि कर्मचारी पनि आज बुझेको चाहियो ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया