कफीको उत्पादन बढाउन कृषक पाठशाला सञ्चालन

 पुस २२, २०७९ शुक्रबार २०:२४:१४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ । 

यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीले सञ्चालन गरेको प्राङ्गारिक कफी बगैँचा व्यवस्थापनसम्बन्धी १४ हप्ते कृषक पाठशालामा किसानले यस्तो सिकाइ अभ्यास सुरु गर्न थालेका हुन् । 

कृषक पाठशालामा समूहगतरूपमा व्यावसायिक कफी किसानको सहभागिता हुन्छ । कफी खेतीको बारेमा जानकारी लिन उनीहरूले हप्ताको एक पटक कार्यालयका कर्मचारी तथा कफी अनुसन्धान विज्ञहरूसँग विशेष कक्षामार्फत जानकारी लिने र अनुभव साटासाट गर्ने गर्दछन् । पाठशालामा उनीहरूले विशेषज्ञहरूलाई सोधेर तत्कालै समस्या पहिचान गर्ने गर्दछन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोनाले गुल्मीको मदाने गाउँपालिकाको सिर्सेनी र मालीका गाउँपालिकाको मर्भुङ्मा कृषक पाठशाला सञ्चालन गरेको छ । पाठशालाबाट किसानको दक्षता वृद्धि गर्ने र आफ्नो कफी बगैँचामा देखिएका स–साना समस्याहरूलाई आफैँ पहिचान गर्ने बानीको विकास हुने परियोजना प्रमुख गंगाकुमारी पोख्रेलले बताउनुभयो ।

कृषक पाठशालामा २५ देखि ३० जनासम्म कफी किसान सहभागी हुने गर्दछन् । परियोनाले गुल्मीको सत्यवती र कालीगण्डकी गाउँपालिकाका पनि कृषक पाठशाला सञ्चाल गर्ने तयारी गरेको छ । पाठशालामा कफी विज्ञहरूसँग प्रत्यक्षरूपमा बगैँचाको अनुगमन गर्दै त्यहाँ देखिएका समस्याको बारेमा खुलेर जिज्ञासा राख्न पाउँदा आफूहरू उत्साहित बनेको मालिका तरकारी बारी कृषक समूहका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । ‘सामान्य कुरा सोध्न पनि अरूलाई गुहार्नु पथ्र्र्योे, गाउँमै पाठशाला सुरु भएपछि धेरै खुसी छौँ’, घर्तीले भन्नुभयो ।

गुल्मीका १२ वटै पालिमध्ये मुसिकोट, रुरुक्षेत्र, मदाने, सत्यवती, कालीगण्डकी लगायतका पालिका कफीको पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादनशील एक सय नौ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । गुल्मेली कफी वर्षाैँदेखि जापान, कोरिया र फ्रान्सलगायतका देशमा निर्यात हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया