चितवन महोत्सवमा बाल उद्यानबाट १० दिनमा ५ करोड रुपैयाँ भारत पुग्दै !

 पुस २४, २०७९ आइतबार १३:१४:४५ | राधेश्याम खतिवडा
unn.prixa.net

महोत्सवमा बाल उद्यान, सुन्दा सामान्य लाग्ला । तर, विषय असामान्य बन्दै गएको छ । महोत्सवमा हुने झुला–झाम्टा खेल–खेलौना बाजागाजा एउटा आकर्षण त होला तर ती सबै रामरमिताले करोडौँ रुपैयाँ देशबाट बाहिरिने विषयमा कमैको चासो पुगेको देखिन्छ । 

महोत्सवमा आकर्षको रुपमा राखिने बाल उद्यानमा आइपुग्ने खेल खेलौनाका भारतबाट आइपुग्छन् । लगानी कर्ता भारतीय हुन्छन् । महोत्सवमा हुने कारोबारको ठूलो हिस्सा विदेशी लगानीको बाल उद्यानले नियन्त्रणमा लिँदै आएको छ । 

यो समय महोत्सवमय बनेको छ । चितवनमा एउटै समयको नेरोघेरोमा तीनवटा महोत्सव हुँदैछन् । हरेक महोत्सवमा सानो होस् या ठूलो खेल खेलौनाका साधन राखिने गरिन्छ । बाल उद्यानलाई महोत्सवको ब्राण्ड बनाइएको छ । जबरजस्त ब्राण्ड बनाइएको यस्ता खेल खेलौनाबाट हरेक महोत्सवमा लाखौँ रुपैयाँ देश बाहिर पुगिरहेको छ । 

अहिले आर्थिक सङ्कटको समयमा सकसले सङ्कलित पुँजी  खेल खेलौनाका नाममा विदेश पलायन गराउने यस्ता बाल उद्यानका विषयमा चासो राख्नुपर्ने निकाय मौन रहनु उपयुक्त होइन । बाल उद्यान नभए महोत्सव चल्दैन भन्ने आयोजकको बुझाइ भित्र अनेक प्रलोभनले काम गरेको देखिन्छ । 

पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा बाल उद्यानलाई फनपार्कको रुपमा घोषणा गर्दै गौरव गरिएको छ । विदेशीले चलाउने फनपार्क सङ्कलित पुँजी विदेश पठाउने साधान बनेको छ । 

चितवन महोत्सवमा विगतदेखि नै नेपाली कुनै कम्पनीको सेटिङमा विधि प्रक्रिया पूरा गरेरै भारतीय लगानीमा रहेको बाल उद्यान चितवन आउँछ । रकम उठाउँछ भारत पुग्छ । चितवन महोत्सवबाट बाल उद्यानको नाममा ९ दिनमा ५ करोड रुपैयाँभन्दा धेरै रकम भारत पुग्दैछ । भारतीय कम्पनीको खेल खेलौनालाई यस पटक पनि चितवन ल्याइने र लक्षित कारोबारको आकलन हेर्दा ६ करोड रुपैयाँ बराबरको कारोबार त्यही बाल उद्यानले गर्ने देखिएको छ  । 

नारायणी नदी किनारमा आयोजना गर्न लागिएको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । विगतका महोत्सवको तथ्याङ्कलाई केलाउने हो भने सुरुको दिन निःशुल्क प्रवेश गर्नेको सङ्ख्या, टिकट खरिद गर्नेको सङ्ख्या र आयोजकसँगै स्टलवालाका पासमार्फत् प्रवेश गर्नेको सङ्ख्यालाई आधार मान्दा झण्डै पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने गरेको देखिन्छ । 

महोत्सवको मुख्य आकर्षण मानिएको बाल उद्यानमा रमाउनेको सङ्ख्या हरेक वर्ष बाक्लिँदै गएको छ । महोत्सवमा अवलोकन गर्न पुगेकामध्ये दुई लाख दर्शकले प्रतिव्यक्ति तीनसय रुपैयाँ मात्र बाल उद्यानमा खर्च गर्दा ६ करोड रुपैयाँ कारोबार देखिन आउँछ । बाल उद्यान सञ्चालकले एक करोड रुपैयाँ यही महोत्सवका लागि खर्च गर्ने भए पनि बाँकी पाँच करोड रुपैयाँ नेपालबाट बाहिरिने नै हो । 

व्यावसायिक प्रवर्द्धन र उद्यम विकासका लागि सहजीकरणको नाममा आयोजना गरिएको महोत्सव आयोजकले यो आर्थिक सङ्कटमा नागरिकसँग सङ्कलित रकमलाई भारत पठाउने खेलोको विषयमा जिल्लाका आर्थिक सरोकार राख्ने निकाय मौन रहन हुने थिएन । अहिलेको समयमा हुने महोत्सवमा विदेशी खेलखेलौनालाई प्राथमिकतामा पार्न आवश्यक थिएन । 

नागरिकस्तरमा यो बहसको विषय बने पनि आयोजक मात्र होइन सहयोगी निकाय जिल्ला प्रशासन र महानगरपालिका बेखबर जस्तो बनेको छ । महोत्सवमा यस्ता खेल ल्याउने संरचनाको पहुँच कल्पना गरिएको भन्दा धेरै माथिसम्म पुगेको हुन्छ । विगतमा महोत्सव आयोजक संस्थामा औपचारिक रुपमै बाल उद्यानका विषयमा विवाद हुँदा बाल उद्यान सञ्चालकबाट नाजायज सेवा सुविधा प्राप्त गर्नेको लहरो अजिव लाग्ने स्तरको देखिएको थियो । 

बाल उद्यान सञ्चालकले खास व्यक्तिका घरमा सामान उपहारदेखि आयोजकका परिवारलाई वैदेशिक भ्रमणसम्म लगिदिने गरेको छ । सानो लोभमा रमाउँदा ठूलो आर्थिक देश बाहिर पुग्दै गरेको तथ्यलाई बिर्सनु दु:खद विषय हो । 

आयोजकले बाल उद्यानलाई महोत्सवको आम्दानीको श्रोतको रुपमा व्याख्या गर्दै आएका छन् । तर, चितवन महोत्सव बाल उद्यान विना सञ्चालन गर्दाको वर्ष महोत्सवको आम्दानीमा खासै फरक परेको देखिएको छैन । २०७३ सालको महोत्सव बाल उद्यानविहीन थियो । हरेक महोत्सवमा भएको आम्दानी र २०७३ सालमा बाल उद्यान नहुँदाको आम्दानीमा खासै फरक देखिएको छैन । करोडौँ रुपैयाँ भारत पठाएर केही रकम मात्र प्राप्त गर्नुलाई सफलताको विषय मानिनु हुँदैन । 

चितवन महोत्सवमा अहिले स्टल भाडा बढाइएको छ । टिकट दर बढाइएको छ तर, विदेशी खोलौनालाई सगौरव फन पार्क रुपमा ब्राण्ड बनाएर प्रस्तुत गरिएको छ । विगत केही वर्षदेखि यो विषय विवादमा पर्दै आएको छ । बाल उद्यान सञ्चालकको पहुँच र कमिसनको प्रलोभनमा यस वर्ष पनि विदेशी बाल उद्यान जबरजस्त चितवन महोत्सवमा स्थापित भएको छ ।

 

अहिलेको आर्थिक सङ्कटको समयमा सामान्य पुँजीलाई पनि जोगाउनुपर्ने अवस्थालाई नजरअन्दाज गर्दै करोडौँ रुपैयाँ देश बाहिर पुग्ने विषयमा आयोजक र सरोकार राख्ने निकायले बेवास्ता गरे पनि महोत्सव अवलोकन गर्न पुग्नेहरुले यसलाई चिन्तनको विषय बनाउन ढिला गरिनु हुन्न । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया