गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न

 पुस २४, २०७९ आइतबार १४:५५:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा आज आइतवार परीक्षण (डेमो) उडान भएको छ । रेसुङ्गा नगरपालिका १० काे सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएकाे तारा एअरको नाइन एन–एएलओ ट्विनअटर जहाजले आज बिहान १२ बजे परीक्षण उडान गरेको हो । 

परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एअरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि ताराले आज परीक्षण उडान गरेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभयाे । 

काठमाण्डाैबाट बिहान ११ बजे उडेको तारा एअरकाे जहाज झन्डै ४७ मिनेटमा गुल्मी आइपुगेको थियो । परीक्षण उडानपछि अब नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभएको छ । लामाे समयपछि गुल्मीवासीको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले विमानस्थललाई याे अवस्थासम्म ल्याइ पुर्‍याउनका लागि सहयोग गर्ने राजनीति दल, विभिन्न निकाय र जिल्लावासीमा धन्यवाद दिनुभएको छ । उहाँले आउँदा दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवम् सहयोग अपरिहार्य रहेको बताउनुभयो । 

त्यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुरक्षित हवाई यात्राबाट समयमा गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आफू तत्कालीन अवस्थामा परराष्ट्रमन्त्री हुँदा शिलान्यास गरेको विमानस्थलमा ढिलै भए पनि उडान सुरु भएकाेमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

काठमाण्डाैबाट आएकाे जहाजमा सांसद भण्डारी, एमाले उपमहासचिव ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेश सभा सदस्य धनेन्द्रबहादुर कार्की र नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रहेका थिए । विमानस्थलमा परीक्षण उडान हेर्न स्थानीयवासीकाे उत्साहजनकरूपमा सहभागिता थियाे ।  

२०६३ सालदेखि काम सुरु भएकाे यस विमानस्थलकाे निर्माण १६ वर्षपछि सम्पन्न भएको हो । ३३ करोड रुपैयाँकाे लागतमा निर्माण भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ ।  रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया